• १५ कात्तिक २०८१, बिहिबार

धरानमा तिहारको झिलिमिली

blog

निशा राई 

धरान, कात्तिक १५ गते । धरानका मुख्य चौक बजारदेखि सबै क्षेत्रहरुमा तिहारको  झिलिमिली सुरु भएको छ । बजारमा तिहारको सामान किन्न सर्वसाधरणको भिड लागेको छ । धरानको मुख्य बजारमा रहेको पूर्वी पहाडी जिल्ला जाने बस स्टेण्ड, घण्टाघर अगाडिको पेटी लगायत बजारको हरेक सडक पेटीमा धेरै अस्थायी पसल तिहारको लागि थापिएको छ । ती पसलमा तिहारका लागि चाहिने विभिन्न सामग्री बेच्न राखिएको छ । 

गत वर्षहरुमा झैँ यस वर्ष पनि धरानको सब्जी बजार, कलेज रोडमा विभिन्न रङ्गीचङ्गी रेडिमेट तथा प्लाष्टिकका फूलहरू र विजुलीका बत्तीहरुले बजार नै झलमल्ल देखिएको छ । यो झिलिमिली हेर्न युवायुवतीदेखि सबै उमेरका नागरिकको भिड हुने गरेको छ । 

विभिन्न प्रकारका बत्ती, विभिन्न आकारका प्लाष्टिकका फूल र अन्य सामग्रीको खरिद बिक्रीले तिहारको रौनक बढेको छ । भाइटीकाको दिनमा चाहिने ओखर, सप्तरङ्गी टीका, फूलहरु देखि झिलिमिली बत्ती माटोको दियोलगायत तिहारका सामग्री खरिद गर्न सर्वसाधारणको भिड लागेको छ । 

यसपालि भने सयपत्रि फूलको भाउ बढेको छ । गत वर्षमा ३० रुपियाँ मुठादेखि ५० रुपियाँसम्म पाइने फूलहरु यसपालि भने १ सय ५० रुपियाँ मुठादेखि २ सय ५० सम्म रहेको स्थानियवासी पुष्पा राईले बताउनुभयो । त्यसमा पनि फूल धेरै नरहेकोले छानेर लिन नै नपाइएको बताउनुभयो । 

गत वर्षमा सयपत्री फूलले बजार फूलमय हुने गरेको थियो । यस वर्ष भने समयमा फूल नफुलेको कारण बजारमा कम रहेको र महँगाे छ । यस नेपालको पहाडी जिल्लाहरुबाट र छिमेकी देश भारतबाट पनि फूल नआएको कृषि उपज बजार धरान–१३ का बजार व्यवस्थापक लक्ष्मण भट्टराईले बताउनुभयो । 

यसपाली तिहारमा फूलको अभाव हुने र किसानले लगाएको फूलको मूल्य पनि बढ्ने देखिएको छ । नेपाल फ्लोरिकल्चर एसोसिएसनले पनि यस वर्षको तिहारमा फूलको अभाव हुने जानकारी दिएको छ ।