• १९ पुस २०८१, शुक्रबार

दम्ती सबस्टेशन सञ्चालन, विद्युत् आपूर्तिमा सुधार हुने

blog

सलिम मिया

बिजुवार, कात्तिक १४ गते । प्युठानको दम्तीमा निर्माण भएको ३३–११ केभी सबस्टेशन सञ्चालनमा आएको छ । आठ वर्षअघि निर्माण थालिएको सबस्टेशन बुधबारदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरण प्युठान वितरण केन्द्रका प्रमुख महेन्द्रकुमार दासले जानकारी दिनुभयो । 

दासका अनुसार सबस्टेशनबाट तीन वटा ११ केभी फिडरमार्फत जिल्लामा विद्युत् आपूर्ति गरिनेछ । यसबाट करिब ३२ हजार जनता लाभान्वित हुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अब जुम्रीबाट ३३ केभीबाट दम्ती सबस्टेशन विद्युत् जान्छ, त्यसपछि मात्र ११ केभीबाट वितरण गरिने हुँदा भोल्टेज सुधार हुने र विद्युत् आपूर्तिको विश्वसनीयता बढ्ने छ ।’

प्राधिकरण र श्री त्रिपुरेश्वर जयदुर्गे जेभीबिच ५ करोड ३६ लाख ६० हजार ६८२ रुपियाँमा २०७४ जेठ १७ गते सबस्टेशन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । तर, स्थानीयले काममा अवरोध गरेको भन्दै निर्माण कम्पनीले काम रोकेपछि सबस्टेशनको काम अलपत्र परेको थियो । 

प्राधिकरणले निर्माण कम्पनीसँग सम्झौता तोडेर काम अघि बढाएपछि सबस्टेशन सञ्चालनमा आएको हो । ३३ केभिए प्रसारण लाइनलाई ११ केभिमार्फत वितरण गर्न सबस्टेशनको भूमिका हुन्छ । सबस्टेशन सञ्चालनमा आएसँगै विद्युत् वितरण र विद्युतीय जोखिमले हुने क्षति न्यूनीकरण गर्न मद्दत पुग्ने केन्द्रले जनाएको छ ।

जिल्लाका ९ वटा स्थानीय तहका ६४ वडामध्ये नौबहिनी –१ को स्याउलीबाङ, गौमुखी –३ खरा बाहेक सबै स्थानमा विद्युत् लाइन पुगेको प्राधिकरणले जनाएको छ । जिल्लाका ४५ हजार घरधुरीमध्ये ४४ हजार घरधुरीमा विद्युत् पुगेको छ । आउँदो पुस महिनाभित्रमा सबै घरमा विद्युत् पुग्ने प्राधिकरणले जनाएको छ ।