• २४ पुस २०८१, बुधबार

जहाजको टिकट पाउन रातभर जाग्राम

blog

जहाजको टिकट लिन राति लाइन बसेका सर्वसाधारण ।

राजु लामिछाने

रुकुमपश्चिम, कात्तिक १४ गते । रुकुमपश्चिममा हवाईजहाजको टिकट पाउन रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको छ । चाडपर्व सुरु भएसँगै यातायात क्षेत्रमा बढेको यात्रुको चापका कारण जहाजको टिकट पाउन सास्ती खेप्नु परेको सर्वसाधारणको गुनासो छ । 

टिकट वितरण हुने दिनको अघिल्लो रातभर लाइन लागेका सबैले टिकट भने पाउँदैनन् । सल्ले विमानस्थलमा मङ्गलबारका दिन नेपालगन्जबाट रुकुम हुँदै काठमाडौँ र आइतबार काठमाडौँबाट रुकुम हुँदै नेपालगन्ज जाने जहाजको तालिका छ । आगामी हप्ताको मङ्गलबार काठमाडौँ जाने टिकट पाउन एक साताअघि नै टिकट वितरण हुने गर्छ । टिकट पाउन सर्वसाधारण सोमबार बेलुकादेखि नै नेपाल वायुसेवा निगमको सल्लेस्थित कार्यालयमा लाइनबद्ध हुने गरेका छन् । 

मुसीकोट नगरपालिका–१ की ममता मल्लले सोमबार राति १० बजेदेखि नै निगमको कार्यालयमा आएर लाइन लागेको बताउनुभयो । उहाँले रातभर लाइन बसेर चार नम्बरमा नाम टिपाउन सफल भएपछि अर्को हप्ताका लागि टिकट पाएको जनाउनुभयो । मङ्गलबार रुकुमबाट जहाज काठमाडौँ गएपछि मात्रै कार्यालयले आगामी साताका लागि टिकट वितरण गर्छ । हरेक वर्षको चाडबाडमा यस्तै सास्ती खेपेर टिकट लिने गरेको उहाँको भनाइ छ । 

मुसीकोटकै सुषमा थापाले सोमबार बेलुकादेखि लागेको लाइन मङ्गलबार बिहानसम्म २४ जनासम्म पुगेको बताउनुभयो । उहाँले कसैले नाम टिपाएर गएको भए पनि आफूहरू रातभर जाग्राम बसेको जनाउनुभयो । यात्रुको चाप हुने बेलामा नेपाल वायु सेवा तथा अन्य निजी विमानले उडान भर्न आवश्यक रहेको उहाँको भनाइ छ । आफू रातभर जाग्राम बसे पनि टिकट भने पाउन नसकेको उहाँको गुनासो छ । अगाडि लाइन बसेकाले टिकट पाएपछि आफूहरूले पाउन नसकेको उहाँले बताउनुभयो । 

सल्ले विमानस्थलका प्रमुख प्रेम ओलीले चाडबाडका बेला बढी नै यात्रुको चाप हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “रातिदेखि नै टिकट लिनेको लाइन लागेको हुन्छ । यात्रुले लाइनबद्ध बसेर लिस्टको आधारमा टिकट वितरण हुने गरेको छ । एक दिन नेपालगन्ज र एक दिन काठमाडौँका लागि सेड्युल छ, सबैलाई पठाउन मुस्किल छ ।” उहाँले निगमले जहाज अभावका कारण उडान थप गर्न नसकेको तर निजी जहाजले उडान भर्न आवश्यक देखिएको बताउनुभयो । यात्रुको सुविधाका लागि अनलाइनमार्फत टिकट किन्न सकिने व्यवस्थासमेत रहेको उहाँले जानकारी दिनुभयो तर यात्रुले जानकारी नभएको भन्दै रातिदेखि नै लाइन लाग्ने गरेको उहाँले बताउनुभयो । अनलाइन टिकट खुलेको बेलामा बुकिङ गरेमा लाइन बस्नुपर्ने समस्या नरहने उहाँको भनाइ छ । 

चौरजहारी विमानस्थल बन्द

रुकुमपश्चिममा दुई वटा विमानस्थल छन् । सदरमुकाममा रहेको सल्ले विमानस्थलमा अहिले हप्तामा दुई पटक जहाज आउने तालिका रहेको छ भने चौरजहारी विमानस्थल बन्द अवस्थामा छ । २०२८ सालदेखि सञ्चालनमा आएको चौरजहारी विमानस्थल २०७० सालको फागुनबाट सञ्चालनमा छैन । रुकुम, सल्यान र जाजरकोट जिल्लालाई लक्ष्य गरी निर्माण गरिएको यो विमानस्थल कालोपत्रे गरिएपछि बन्द भएको हो । विसं २०७० फागुनदेखि २०७२ भदौसम्म धावनमार्ग कालोपत्रे गरिएको थियो । पाँच करोड ५९ लाख ४९ हजार ९५२ रुपियाँको लागतमा धावनमार्ग कालोपत्रे भएपछि यहाँ जहाज आउनै छाडेका छन् । सर्वसाधारणले चाडबाडको बेलामा भए पनि सञ्चालनमा आउने अपेक्षा बोकेको दशक बितिसक्दा पनि चौरजहारी विमानस्थल सञ्चालनका बारेमा कहीँकतै चासो नगरिएको गुनासो छ ।