• १५ कात्तिक २०८१, बिहिबार

‘स्वरसम्राट् नारायणगोपाल’ लोकार्पण

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १४ गते । नारायणगोपालको जीवनीमा आधारित ‘स्वरसम्राट् नारायणगोपाल’ पुस्तकको मङ्गलबार एक कार्यक्रमबिच लोकार्पण गरिएको छ । वरिष्ठ सङ्गीतज्ञ कर्म योन्जन, सिके रसाइली, नीर शाह, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, वसुन्धरा भुसाल, लेखक प्रकाश सायमिले संयुक्त रूपमा पुस्तकको लोकार्पण गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ शिक्षाविद् केदारभक्त माथेमाले बायोग्राफी लेख्नु चुनौतीपूर्ण काम भएको भन्दै सायमिको प्रशंसा गर्नुभयो । अभिनेता सरोज खनालले नारायणगोपालको सङ्गीतले उहाँलाई अमर बनाएको भन्दै उहाँ हरेक नेपालीको हृदयमा जीवित रहेको बताउनुभयो । वरिष्ठ गीतकार नगेन्द्र थापाले पुस्तक भविष्यका अनुसन्धानकर्ताका लागि कोसेढुङ्गा साबित हुन सक्ने बताउनुभयो । लेखक सायमिले नारायणगोपालको जीवन र व्यक्तित्वलाई सङ्क्षिप्तमा प्रस्तुत गर्न यो पुस्तक तयार गरेको बताउनुभयो ।