• १२ कात्तिक २०८१, सोमबार

तिहारपछि प्रदेश लोकसेवामार्फत् कर्मचारी थप्छौँ : मुख्यमन्त्री शाह

blog

जिल्ला समन्वय समितिको वार्षिक समीक्षा गोष्ठीमा बोल्नुहुँदै मुख्यमन्त्री कमलबहादुर शाह।

कृतबहादुर विष्ट

फूलवारी (कैलाली) कार्तिक ११ गते। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले तिहार सकिएसँगै प्रदेश लोक सेवा आयोगमार्फत प्रदेशमा आवश्यक जनशक्ति थप्ने प्रक्रिया अघि बढाउने बताउनुभएको छ।

आइतबारदेखि सुरु भएको जिल्ला समन्वय समिति कैलालीको आयोजनामा वार्षिक समीक्षा कार्यक्रमको समुद्घाटन गर्दै मुख्यमन्त्री शाहले निजामती कर्मचारी ऐनको नियमावली बनाई आयोगमार्फत कर्मचारी थप्ने प्रक्रिया अघि बढाउने बताउनुभएको हो।

‘अहिले जनशक्ति अभाव र पर्याप्त स्रोत साधन नहुँदा प्रदेश सरकारलाई काम गर्न समस्या भइरहेको छ’ उहाँले भन्नुभयो, ‘अब तिहार सकिएलगत्तै नियमावली बन्छ र प्रदेश लोक सेवा आयोगमार्फत कर्मचारी थप्ने प्रक्रिया अघि बढ्छ।’

मुख्यमन्त्री शाहले संघमार्फत् रहेका कार्यालयमा पनि प्रदेशले बजेट विनियोजन गर्नुपर्ने अवस्था रहेको बताउँदै भन्नुभयो, ‘समन्वय र सहकार्य नहुँदा सङ्घीय सरकारमातहात रहेका कार्यालयमा प्रदेश सरकारले बजेट विनियोजन गर्न सकिरहेको छैन।’

उहाँले स्थानीय तहलाई उपभोक्ता समितिमार्फत कुनै पनि योजनामा बजेट विनियोजन नगर्न अनुरोध गर्नुभएको छ। ‘हामीले उपभोक्ता समिति गठन गरेर बजेट खर्च नगर्ने भनेका छौँ’ उहाँले भन्नुभयो, ‘तपाईँ स्थानीय तहका प्रतिनिधिले यसलाई कडाइका लागि लागु गरिदिनुहोला।’

मुख्यमन्त्री शाहले जिल्ला समन्वय समितिलाई चलायमान बनाउन बनाउन प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमलगायत विभिन्न प्रदेश सभा सदस्यहरूले आ-आफ्नो धारणा राख्नुभएको थियो।

आइतबारदेखि सुरु भएको वार्षिक समीक्षा कार्यक्रममा कैलालीका १३ वटै स्थानीय तहका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विकास निर्माण कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको छ। 

समीक्षामा १३ वटै पालिका, विकास पूर्वाधार कार्यालयबाट भएका उपलब्धि, राम्रा अभ्यास, समस्या तथा चुनौती लगायतका विषयमा बहस तथा छलफल हुने जिल्ला समन्वय समिति कैलालीका सूचना अधिकारी विमलप्रकाश जोशीले बताउनुभयो।’