• १२ कात्तिक २०८१, सोमबार

दाताको भरमा वृद्धाश्रम

blog

आश्रमलाई सहयोग प्रदान गर्नुहुँदै लक्ष्मण अधिकारी क्षेत्री । तस्बिर– अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, कात्तिक ११ गते । तनहुँको व्यास नगरपालिका–११ मूलपानी निवासी लक्ष्मण अधिकारी क्षेत्रीले आफ्नो ८४ पूजा तथा जन्मदिनको उपलक्ष्यमा ज्येष्ठ नागरिक चौतारी वृद्धाआश्रमलाई आइतबार खाद्यान्न, लत्ताकपडा तथा नगद सहयोग गर्नुभएको छ । 

आफ्नो धर्मपत्नी, छोराछोरी, बुहारी, नातिनातिनाका साथ आश्रम पुगेर अधिकारीले नगद आठ हजार, खाद्यान्न, लत्ता कपडा, फलफूल गरी करिब २० हजारको सहयोग गर्नुभयो । बुबाको जन्मदिनको अवसर पारेर फजुल खर्च गर्नुभन्दा आश्रमलाई सहयोग गरेको अधिकारीका छोरा वसन्तबहादुर अधिकारी क्षत्रीले बताउनुभयो ।

अधिकारीजस्तै दाताहरूको सहयोगको भरमा व्यास नगरपालिका–५ बेनीपाटनमा सञ्चालित ज्येष्ठ नागरिक चौतारी आश्रम चलेको छ । विसं २०६८ मा स्थापित सो आश्रम राष्ट्रिय परोपकार महासङ्घ तनहुँ शाखामार्फत सञ्चालित छ । 

यस आश्रम १० वृद्धवृद्धाले सहारा पाएका छन् । सरकारी निकायले बजेटको प्रबन्ध नगर्दा दाताहरूकै सहयोगमा निर्भर हुनुपरेको आश्रम तथा राष्ट्रिय परोपकार महासङ्घ जिल्ला कार्य समितिका अध्यक्ष तारानाथ घिमिरेले जानकारी दिनुभयो । 

सन्तान नभएका, सन्तानले हेँला गरेको आश्रयहीन ६० वर्ष नाघेका १० जना ज्येष्ठ नागरिक आश्रित रहेको उहाँले जानकारी दिनुभयो । घिमिरेले भन्नुभयो, “सरकारी तर्फबाट सहयोग प्राप्त भएको छैन, आश्रम दाताको सहयोगले चलिरहेको छ, विभिन्न अवसरमा दाताहरूले सहयोगबाट सञ्चालन गरेका छौँ ।’’   

आश्रमका हरेक कोठामा नुहाउन सोलार जडान गरेर तातोपानीको व्यवस्था गरिएको आश्रमले जनाएको छ । दाताहरूले जन्मोत्सव, ८४ पूजा वैवाहिक वर्षगाँठ, पितृ स्मृतिजस्ता सन्दर्भमा आश्रममा नगद, अन्नदान, वस्त्रदान, निःशुल्क भोजन र दानपेटिकामा राखेको नगदबाटै आश्रम सञ्चालन भइरहेको आश्रमका सचिव ऋषिराम ढुङ्गाना सेवकले बताउनुभयो । 

देश तथा विदेशमा रहने व्यक्ति तथा विभिन्न सङ्घ संस्थामार्फत आश्रमलाई सहयोग प्राप्त भइरहेको उहाँले जानकारी दिनुभयो । सचिव ढुङ्गानाले भन्नुभयो, ‘‘व्यक्तिले जन्मदिन, चौरासी पूजा, वैवाहिक वर्षगाँठ, पुण्यतिथि लगायतको अवसर पारेर आश्रममा सहयोग गरिरहनुहुन्छ, त्यही सहयोगले गर्दा आश्रम सञ्चालनमा कठिनाइ भएको छैन ।’’ 

आश्रमले राम्रोसँग पालन पोषण गरेकोमा आश्रितहरू खुसी छन् । १० वर्षदेखि आश्रममा बस्दै आउनु भएका अपाङ्गता हुनु भएका ६७ वर्षीय बालकृष्ण भण्डारीले आफ्नो कोही नभएकाले आश्रम साहारा भएको बताउनुभयो । रुपन्देही घर भएका भण्डारीले भन्नुभयो, ‘आश्रमले खान लाउन दिएको छ, बिरामी हुँदा उपचार गरेको छ सबैको माया पाउँदा खुसी लागेको छ ।’’