• १२ कात्तिक २०८१, सोमबार

कुकुरले टोकेका बिरामी सङ्ख्या बढ्दो

blog

इलाम अस्पतालको आकस्मिक कक्ष । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल 

इलाम, कात्तिक ११ गते । पछिल्लो समय इलाममा कुकुरले टोकेका बिरामी बढेका छन् । इलाम अस्पतालमा दैनिकजसो कुकुरले टोकेको बिरामी आउने गरेका छन् । 

घरपालुवा र सडकमा डुल्ने कुकुरले टोकेर दैनिक पाँच–सात जना बिरामी आउने गरेको इलाम अस्पतालको आकस्मिक सेवाका इन्चार्ज टीका लुइँटेलले बताउनुभयो ।  

कात्तिक महिना सुरु भए यता ३० जनालाई कुकुरले टोकेको छ । ‘कुकुरले टोक्नुलाई सामान्यजस्तो लाग्छ, तर यो खतरनाक हो, स्वस्थ कुकुर नै किन नहोस्, टोकेपछि रेबिजविरुद्धको खोप लगाउनै पर्छ ।’ लुइँटेलले भन्नुभयो ‘कुकुरले टोकिहाले हेल्चेक्र्याईं  गर्न हुँदैन, मानिसमा रेबिज रोगको खतरा हुन सक्छ ।’ 

कुकुरले टोक्यो भने सुरुमा साबुनपानीले टोकेको भागलाई राम्ररी धुन र सकेसम्म चाँडो स्वास्थ्य संस्थामा जानुपर्ने स्वास्थ्यकर्मी लुइँटेलको भनाइ छ । यस्ता बिरामीलाई रेबिजविरुद्धको सातामा तीन वटा खोप चलाउने गरिएको छ । 

कुकुरले टोकेको दिन, टोकेको तीन दिन र टोकेको सात दिनमा खोप दिनुपर्ने लुइँटेलको भनाइ छ । गाउँबाट बजार भर्न आएका सर्वसाधारणलाई इलाम बजारमा रहेका कुकुरले बढी टोक्नेगरेको पाइएको लुइँटेलले बताउनुभयो । 

पछिल्लो समय चालुआर्थिक २०८१–८२ वर्षको असोजसम्ममा ७० जनालाई कुकुरले टोकेको तथ्याङ्क अस्पतालमा छ । 

यस्तै, कात्तिक महिना सुरु भएपछि पनि ८ गतेसम्ममा ३० जना बिरामी अस्पताल आएको अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताउनुभयो ।  गएको आर्थिक वर्ष २०८०–८१ मा भने सातसय ३५ जनालाई कुकुरले टोकेर भ्याक्सिन लगाएको अस्पतालले जनाएको छ ।