• १५ कात्तिक २०८१, बिहिबार

अन्नपूर्ण क्षेत्रबाट माथिएसको अनुरोध : अन्नपूर्णको विश्वभर प्रचार गरौँ

blog

अन्नपूर्ण आधार शिविरमा पुग्नुभएका माथिएस हर्जोग र स्थानीयहरू । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, कात्तिक ११ गते ।
 पिताको मार्ग पछ्याउँदै अन्नपूर्ण क्षेत्रमा आउनुभएका फ्रान्सेली नागरिक माथिएस हर्जोगले प्राकृतिक सुन्दरताले भरिपूर्ण अन्नपूर्ण प्रथम हिमालको विश्वभर प्रचारप्रसार गर्न अनुरोध गर्नुभएको छ ।

अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोहण गरेर पहिलो आरोहीको कीर्तिमानी बनाउनुभएका फ्रान्सेली आरोही मौरिस हर्जोगका छोरा माथिएस म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित अन्नपूर्ण  हिमालको आधार शिविरमा पुग्नुभएको हो  ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेर विश्वमै पहिलो आरोहीको कीर्तिमानी राख्नुभएका आफ्ना पिता हिँडेको मार्ग पछ्याउँदै माथिएस शनिबार अन्नपूर्ण आधार शिविर पुग्नुभएको थियो ।

७५ वर्ष अघि पिता हिँडेको मार्ग हुँदै शनिबार माथिएस आधार शिविर पुगेर फर्किनुभएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले जानकारी दिनुभयो । माथिएसले आधार शिविरस्थित पञ्चकुण्ड ताल नजिक राखिएको पिता मौरिसको सालिकमा माल्यार्पण गर्नुका साथै सामूहिक तस्बिर पनि खिच्नुभएको थियो । उहाँले आधार शिविर पुगेर केही बेर ध्यान पनि गर्नुभएको गुरुङले बताउनुभयो ।


शुक्रबार माथिएस नारच्याङबाट सुरु हुने मौरिस हर्जोग पदमार्गमा पदयात्रा गर्दै चार हजार एक सय ९० मिटर उचाइमा रहेको आधार शिविर पुग्नुभएको पदमार्गका अभियन्ता गुरुङले बताउनुभयो ।

गुरुङले भन्नुभयो, ‘‘पदयात्राका क्रममा माथिएसले ७५ वर्ष पहिला आफ्ना पिता हिँडेको मार्ग देखेर चकित हुनुभयो । अहिले जस्तो उवेला पदमार्ग थिएन । भिरपहराको बाटो हुँदै मौरिस यही बाटो भएर अन्नपूर्ण हिमाल आरोहण गर्नुभएको बारेमा हामीले उहाँलाई जानकारी गराएपछि उहाँ दङ्ग पर्नुभयो ।’’

माथिएसले अन्नपूर्ण र मौरिस हर्जोग पदमार्गलाई विश्वभर चिनाउन आफूले सक्दो पहल गर्ने बताउनुभयो । माथिएसले भन्नुभयो, ‘‘जेठो हिमाल भनेर चिनिने अन्नपूर्ण अहिले गुमनाम जस्तै छ । अन्नपूर्णको पर्यटकीय सम्भावनाका बारेमा विश्वभर प्रचारप्रसार गर्नुपर्दछ । मौरिस हर्जोग पदमार्ग, आधार क्षेत्र लगायतका स्थानहरूमा पर्यटन पूर्वाधार निर्माण गरेर विश्वभरका पर्यटकहरूलाई यस क्षेत्रमा ल्याउनुपर्दछ ।’’

आगामी सन २०२५ जुन ३ मा अन्नपूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा माथिएसले ८२ वर्षीय आमासहित सम्पूर्ण परिवार अन्नपूर्णको पदयात्रामा आउने प्रतिबद्धता व्यक्त गरेको गुरुङले बताउनुभयो । उहाँका अनुसार पिताले लेखेको द अन्नपूर्ण किताबलाई नेपाली लगायत अन्य भाषाहरूमा पनि अनुवाद गरेर प्रकाशित गर्ने कुरा माथिएसले बताउनुभएको छ । 

सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुग्नुभन्दा तीन वर्षअघि ३ जुन १९५० मा मौरिससहितको फ्रान्सेली टोलीले अन्नपूर्ण प्रथमको सफल आरोहण गरेको थियो ।

हर्जोगले अन्नपूर्ण आरोहण गरेको सम्झनामा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग ट्रेल’ नामकरण समेत गरेको छ भने आधार शिविरमा रहेको पञ्चकुण्ड ताल नजिक मौरिसको सालिक समेत राखेको छ ।

माथिएसको अन्नपूर्ण क्षेत्रको भ्रमणले यहाँको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गरिएको पालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म  पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार क्षेत्र पुगिन्छ । पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा यो क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ ।