• १२ कात्तिक २०८१, सोमबार

अमेरिकाको बाना भवन प्राङ्गणमा फहराइयो नेपाली झण्डा

blog

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा बाल्टिमोर एशोसिएशन अफ नेप्लीज इन अमेरिका (बाना) को प्राङ्गणमा फहराएको झण्डा ।

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक ११ गते । शनिबार (अक्टोबर २६) को दिन नेपाली समुदाय र बानाका लागि ऐतिहासिक र अविस्मरणीय दिन रह्यो । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा रहेको नेपालीको छाता संस्था बाल्टिमोर एशोसिएशन अफ नेप्लीज इन अमेरिका (बाना) नेपाली समुदायको हक हितमा काम गर्ने अग्रणीले झण्डा फहराएको हो । 

अमेरिकामा नै आफ्नो सामुदायिक भवन बनाएर कार्यक्रम सञ्चालन गर्ने यो पहिलो नेपाली संस्था भएको दाबी गरिएको छ । आफ्नो सामुदायिक भवनको प्राङ्गणमा नेपाल, अमेरिका तथा मेरिल्याण्ड राज्यको झण्डा फहराउने विशेष कार्यक्रम  थियो । बाना पदाधिकारीसँगको भेटघाट कार्यक्रममा बाना बारेमा संक्षिप्त जानकारी सूर्य तिमिल्सिना र हेमन्त तिमिल्सिनाले गर्नुभएको थियो ।

बाल्टिमोर काउण्टीका काउण्टी एक्जिक्युटिभ जोनी ओ प्रमुख अतिथिका रहनुभएको त्यस विशेष कार्यक्रममा बानाका अध्यक्ष सुबोधविलास पन्तले नेपालको झण्डा, अमेरिकाकै इतिहासमा पहिलो पटक नेपाली मूलका मेरिल्याण्ड विधानसभा सदस्य ह्यारी भण्डारीले मेरिल्याण्ड राज्यको झण्डा तथा प्रमुख अतिथि जोनीओले अमेरिकी झण्डाकाे झण्डोत्ताेलन गर्नुभएको थियो । 

कार्यक्रमलाई प्रमुख अतिथिलगायत अन्य अतिथिहरुले सम्बोधन गर्नुभएको थियाे । कार्यक्रमको सञ्चालन बाना ट्रष्टीका अध्यक्ष कुलमणि आचार्यले गर्नुभएको थियो । त्यस ऐतिहासिक र अविस्मरणीय कार्यक्रममा सहभागी हुन ओएनएफ अन्तर्राष्ट्रिय अध्यक्ष सञ्जय थापा र मेरिल्याण्डका नेपाली समुदायका व्यक्तित्वहरुको उपस्थिति थियो ।