• १२ कात्तिक २०८१, सोमबार

सँगिनी नाच ब्युताउँदै महिला

blog

सँगिनी नाच प्रदर्शन गर्दै महिला । तस्विरः हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला

उर्लाबारी, कात्तिक ११ गते । गाउँघरमा आधुनिक मनोरञ्जन साधनको पहुँच नभएको समयमा बालन र सँगिनीको हाई–हाई थियो । मान्छे टाढा टाढाबाट बालन र सँगिनी हेर्न कार्यक्रम स्थलसम्म पुग्थे । त्यही बालन र सँगिनी अहिले एकादेशको कथाजस्तो भएको छ ।  

शनिबार मोरङको पथरीशनिश्चरे –३ मा स्थानीय जागरुक महिला समूहले युवा पुस्तामा सँगिनीको परिचय गराउन प्रतियोगितात्मक भजन प्रतियोगिता र सँगिनीको प्रदर्शनी गरेका छन् । बालबालिका, युवा र बुढापाका नरनारीको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा वडाका १२ वटा कीर्तन समूहले भजन प्रस्तुत गरेका थिए । महिलाले सँगिनी नाचको प्रदर्शनी गरेका थिए ।

सँगिनीमा बुढापाकाको आकर्षण थियो भने भजन कीर्तनमा युवापुस्ता र बालबालिकाले साथ दिएका थिए । विगतमा घरधन्दा र मेलापातका गीत गाएर सँगिनी नाच्ने गरिन्थ्यो ।अहिले समाजमा भएको महिला हिंसाविरुद्ध लाग्न र अधिकार स्थापित गर्न आफ्नै गाउँबाट सुरु गर्नुपर्छ भन्दै सँगिनी गाउँदै नाच्दा सहभागीहरू छमछम नाचेका थिए । 

गाउँघरमा कुनै शुभकार्य हुँदा नाचिने ‘बालन नाच’ र सँगिनी गुमनाम भयो, त्यसैले अभियान सुरु गरेका हौं, स्थानीय जागरुक महिला समूहका अगुवा रेणुका काफ्लेले बताउनुभयो । 

खासगरी बाहुन क्षेत्री समुदायमा नाचिने बालन पश्चिमा संस्कृतिको प्रभाव बढेसँगै समाजमा हराउँदै गएको हो । जुनसुकै  शुभकार्यमा बालन नाचिने गरिन्थ्यो । झण्डै डेढ दशक अघिसम्म गाउँघरमा बालन नाचेको स्मरण गर्दै स्थानीय भुवनेश्वर पोख्रेलले भन्नुभयो, ‘बालन नाच लोप हुन लाग्यो । त्यसैले संस्कृतिको जगेर्नाका लागि हामीले सँगिनी र बालनलाई सँगसँगै ब्युँताउन कार्यक्रम गरिरहेका छौं ।’  

महिला जागरुक हरिकीर्तन तथा सँगिनी समूहले आयोजना गरेको कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका उपप्रमुख देवीमाया काफ्लेले नगरमै पहिलो पटक आयोजना भएको कार्यक्रमले सबैलाई एकतामा जोड्न सहयोग गर्ने बताउनुभयो ।  

आफ्नो मौलिकता र संस्कृति जोगाउने उद्देश्यले गरिने यस्ता कार्यक्रमलाई स्थानीय सरकारले सहयोग गर्ने उपप्रमुख काफ्लेले बताउनुभयो । कार्यक्रममा वडाध्यक्ष विजय लिम्बू, नगरका प्रबक्ता नवीनजङ्ग कार्की र वडा नम्वर ४ का वडाध्यक्ष लोककिरण न्यौपानेले भजनकीर्तनले समुदायलाई जोड्ने बताउनुभयो । 

भजन गायन प्रतियोगितामा दीर्घायु हरिकीर्तन मण्डली प्रथम, पशुपति हरिकीर्तन मण्डली दोस्रो, ज्ञानकुञ्ज हरिकीर्तन मण्डली तेस्रो र सिद्धेश्वर हरिकीर्तन मण्डली सान्त्वना  घोषित भएका छन् ।