• १२ कात्तिक २०८१, सोमबार

जिरीमा पर्यटकको चहलपहल

blog

क्याम्पमा विदेशी पर्यटक । तस्बिर : बाबुराम शर्मा

दोलखा समाचारदाता

दोलखा, कात्तिक ११ गते । लामो समयपछि सगरमाथाको प्रवेशद्वारका रूपमा रहेको दोलखाको जिरीबाट विदेशी पर्यटक हिमाल आरोहणका लागि जान थालेका छन् ।

कुनै समयमा पर्यटकले भरिभराउ हुने गरेको जिरी करिब १०/१५ वर्षदेखि सुनसान जस्तै बनेको थियो, अहिले फेरि विदेशी पर्यटकको चहलपहल बढेको छ । उनीहरू जिरीलाई मुख्य मार्ग बनाएर सोलुखुम्बु–लुक्ला हुँदै हिमाल आरोहणका लागि जान थालेका जिरी नगरपालिकाका नगरप्रमुख मित्र जिरेलले बताउनुभयो ।

उहाँका अनुसार प्रकृतिप्रेमी उनीहरू कतिपय जिरीबाट पदयात्रा गर्दै लुक्का जान्छन् भने कतिपय सुमोमा यात्रा गरेर सोलुखुम्बु पुग्छन् । पर्यटकीय मौसम रहेको यो बेला काठमाडौँबाट जिरी आएर एक रात बस्ने र लुक्लाको पदयात्रा सुरु गर्ने पर्यटक भेटिन थालेका छन् । काठमाडौँ हुँदै जिरी आइपुग्नुभएकी इटालियन नागरिक सोफिया बाइनालोले आफूहरू जिरी एक रात बसेर भोलिपल्ट लुक्लाका लागि प्रस्थान गर्ने बताउनुभयो ।

विगतका वर्षमा हिमाल आरोहणको सिजनमा समेत जिरीमा विदेशी पर्यटकको सङ्ख्या नगन्य मात्रामा हुन्थ्यो । यो पटक दसैँपछि नेपाल सरकारबाट अनुमति लिएर जिरी हुँदै हिमाल आरोहणका लागि बाहिरिने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । दैनिकजसो विदेशी पर्यटक जिरी हुँदै बाहिरिने क्रम जारी रहे पनि यकिन तथ्याङ्क भने छैन ।

प्रहरी चेकपोस्टमा यस्तो तथ्याङ्क हुनुपर्ने भए पनि दोलखा प्रवेश गर्ने मार्ग प्रहरी चौकी खरीढुङ्गा र इलाका प्रहरी कार्यालय जिरीमा पर्यटकका बारेमा रिपोर्ट र तथ्याङ्क नै छैन । इलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरीक्षक घनेन्द्र हाङ खजुमले पर्यटक प्रहरीको व्यवस्था नभएका कारण तथ्याङ्क उपलब्ध गराउन नसकेको बताउनुभयो ।

उद्योग वाणिज्य सङ्घ जिरीका अध्यक्ष बाबुराजा श्रेष्ठले पछिल्लो पटक बिपी राजमार्ग बन्द हुँदा जिरीमा विदेशी पर्यटक आउन थालेको बताउनुभयो । जिरी हुँदै सोलुखुम्बु जाने सवारीका साधनमा बढी विदेशी पर्यटक आउने गरेका छन् । जिरीका व्यवसायी सोनाम शेर्पाले भन्नुभयो, “यसरी पर्यटकको आगमनले जिरीका होटेल व्यवसायीलाई केही राहत मिलेको छ । जिरीमा पछिल्लो आठ/दस वर्षयताकै बढी विदेशी र आन्तरिक पर्यटक भित्रिएका छन् । 

विदेशी पर्यटक जिरी आउने र जिरी हुँदै बाहिरिने क्रम बढ्दा बजार क्षेत्रमा चहलपहल बढेको छ । जिरी नगरपालिकाले भ्रमण वर्ष मनाउने तयारी गरिरहँदा यो वर्ष विदेशी पर्यटकसमेत धमाधम आउन थालेका छन् ।