• १० मंसिर २०८१, सोमबार

भेडाबारी सडकको काम धमाधम हुँदै

blog

सुर्खेतको धुलियाबिटदेखि भेडाबारी जोड्ने सडक । तस्बिर : रजनी योगी

बुलबुले समाचारदाता

सुर्खेत, कात्तिक ११ गते । मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको धुलियाबिटदेखि भेडाबारी जोड्ने सडक निर्माणको काम धमाधम भइरहेको छ । रुख कटानको काम सकिएसँगै सडक निर्माणको कामले तीव्रता पाएको हो ।

तोकिएकै मितिमा काम सक्ने गरी निर्माण कम्पनीलाई ताकिता गरिएको मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतले जनाएको छ । राजमार्गको स्तरोन्नतिका लागि २०७८ असार २८ गते ठेक्का सम्झौता गरिएको थियो । २०८० पुस २७ गतेसम्ममा स्तरोन्नतिको काम सक्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको भए पनि उक्त मितिमा काम सम्पन्न नभएपछि २०८१ पुस २६ गतेसम्मका लागि म्याद थपिएको छ ।

तोकिएकै मितिमा काम सम्पन्न गर्ने गरी कालोपत्रेको काम धमाधम भइरहेको कार्यालयका इन्जिनियर रेसम ओलीले बताउनुभयो । ३५ किलोमिटरमध्ये २० किलोमिटर सडक कालोपत्रे भइसकेको छ । बाँकी १५ किलोमिटर कालोपत्रेको तयारीमा रहेको इन्जिनियर ओलीले जानकारी दिनुभयो । धुलियाबिट–भेडाबारी सडकखण्ड अन्तर्गत १८ किलोमिटर वन क्षेत्र पर्दछ । एक हजार ११४ वटा रुख काटिएका छन् । काटिएका काठहरू राजमार्गले डिभिजन वन कार्यालयलाई हस्तान्तरण गरिसकेको छ ।

उक्त राजमार्गको निर्माणमा हालसम्म ८५ प्रतिशत भौतिक प्रगति भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत उक्त सडकखण्डमा म्याद थप गरेर अहिले निर्माण कार्य धमाधम भइरहेको छ । आयोजनाको वित्तीय प्रगति ८० प्रतिशत रहेको छ । १५ प्रतिशत काम बाँकी छ । थपिएको मितिमा काम सम्पन्न गर्ने गरी अघि बढेको आयोजनाले जनाएको छ । अहिले निर्माणको काम धमाधम भइरहेको छ ।

साथै उक्त सडकखण्डमा १२ वटा पक्की पुल निर्माण हुने छन् । अहिले पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दुई छुट्टा छुट्टै ठेक्का सम्झौता गरेर पुल निर्माणको काम अघि बढाइएको हो । पुलको ठेक्का सम्झौता फरक फरक निर्माण कम्पनीसँग गरिएको छ । सात वटा पुलको ठेक्का हिम सगरमाथा कन्स्ट्रक्सन कम्पनी चितवनले लिएको छ । डिजाइन एन्ड बिल्ड ठेक्कामार्फत सात वटा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मदन भण्डारी राजमार्ग कार्यालय सुर्खेतले उक्त कम्पनीसँग २६ करोड ५६ लाखमा ठेक्का सम्झौता गरेको हो । २०७८ फागुन १५ गते ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ ।

सात वटा पुल निर्माणको ९० प्रतिशत भौतिक प्रगति भएको छ । २०८१ भदौ १४ गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि केही काम बाँकी रहेकाले म्याद थप्ने तयारी भएको कार्यालयले जनाएको छ । सात वटामध्ये छ वटा पुल निर्माणको काम सकिएको छ । एउटा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अर्को ठेक्कामार्फत पाँच वटा पुल निर्माणको काम भइरहेको छ । 

२०७८ फागुन १५ गतेदेखि २०८१ भदौ १४ गतेसम्म पुल निर्माणका लागि ठेक्का सम्झौता भएको हो । अहिले म्याद थप गरेर काम गरिने जनाइएको छ । पाँच वटा पुलमध्ये चार वटा पुल निर्माणको काम सकिएको छ भने एउटा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पाँच वटा पुल निर्माणका लागि १३ करोड ७९ लाख रुपियाँमा ठेक्का सम्झौता गरिएको हो । १२ मध्ये १० वटा पुल निर्माणको काम सकिएको छ । दुई वटा निर्माणाधीन अवस्थामा छन् । पुल निर्माणको म्याद थप गरेर काम अघि बढाउने तयारी भइरहेको इन्जिनियर ओलीले बताउनुभयो । यो सडकले वीरेन्द्रनगरस्थित धुलियाबिटबाट भेरीपारिका बस्ती लेकबेँसी हुँदै गुर्भाकोट नगरपालिकाको भेडाबारीसम्म जोड्ने छ ।