• १२ कात्तिक २०८१, सोमबार

उपनिर्वाचनको तयारीमा दलहरू

blog

दैलेख समाचारदाता

दैलेख, कात्तिक ११ गते । आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि दैलेख जिल्लामा रहेका राजनीतिक दलहरू आन्तरिक तयारीमा जुटेका छन् । 

जिल्लामा रहेका नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतका दल उपनिर्वाचनको तयारीमा जुटेका छन् । दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष र दुल्लु नगरपालिका–१३ को वडाअध्यक्षमा उपनिर्वाचन हुँदै छ । 

नेपाली कांग्रेसका जिल्ला पार्टी सभापति मणिराम रेग्मीले महाबु गाउँपालिकाका अध्यक्ष र दुल्लु नगरपालिका–१३ को वडाध्यक्षका लागि सर्वसम्मत नाम सिफारिस गर्न स्थानीय समितिलाई निर्देशन दिएको जानकारी दिनुभयो । उहाँले महाबुु गाउँपालिकाको अध्यक्षका लागि आकाङ्क्षी राजेश बुढा, झलक भण्डारी, सुवर्ण शाही, कर्णबहादुर शाहीमध्ये एक जनाको नाममा सर्वसम्मत गर्नका लागि पार्टीका पूर्वसभापति कृष्णबहादुर बिसीलगायतका नेता महाबु गाउँपालिकामा रहेको बताउनुभयो । नेपाली कांग्रेसले विजयी भएको स्थानमा त्यसको विरासत कायम राख्नसमेत आफूहरू सर्वसम्मत उम्मेदवार बनाउन लागिपरेको उहाँको भनाइ छ । 

यस्तै एमालेका जिल्ला अध्यक्ष सूर्यबहादुर शाहीले उपनिर्वाचनका लागि उम्मेदवार छनोट गर्न आन्तरिक तयारी गरिरहेको जानकारी दिनुभयो । उहाँले वडाध्यक्षको उम्मेदवार जिल्ला कमिटीले नै निर्णय गर्ने र गाउँपालिका अध्यक्षका लागि भने प्रदेशले उम्मेदवार टुङ्गो लगाउने भएकाले पार्टीका बैठक चलिरहेका र कात्तिक २० गतेसम्म उम्मेदवार टुङ्गो लाग्ने दाबी गर्नुभयो । 

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट अध्यक्षका उम्मेदवारले विजयी भएको महाबु गाउँपालिकामा आफ्नो पार्टीको विरासत फर्काउने गरी सर्वसम्मत उम्मेदवार बनाउने तयारी भएको अध्यक्ष शाहीले बताउनुभयो । उहाँले पार्टी विभाजनको प्रभावले २०७९ को स्थानीय तहको निर्वाचनमा महाबु गाउँपालिकामा पराजय बेहोर्नु परेको बताउँदै अहिले पुरानै विरासत फर्काउने गरी तयारी भइरहेको उहाँको भनाइ छ । 

महाबु गाउँपालिका अध्यक्षका लागि २०७९ को स्थानीय निर्वाचनमा पराजित बन्नुभएका हरिप्रसाद उपाध्याय, उपेन्द्र सिंह, चन्द्र दाहाल, मीनबहादुर बुढा, रत्नप्रसाद उपाध्यायलगायतका उम्मेदवारका आकाङ्क्षी छन् । उहाँका अनुसार दुल्लु नगरपालिका–१३ मा भने २०७४, २०७९ सालको स्थानीय तहको निर्वाचनमा एमाले विजयी भएको थियो । 

माओवादी केन्द्रका जिल्ला संयोजक गोपाल रिजालले उपनिर्वाचनका सन्दर्भमा पार्टी कमिटीमा अन्तर्क्रिया सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने भन्ने निर्णय पार्टी केन्द्रलाई नै भएको बताउनुभयो । एक्लै निर्वाचनमा जाने गरी तयारी गरेको भन्दै उहाँले त्यही अनुसार पार्टीका प्रत्येक वडा कमिटीमा छलफल भएको जनाउनुभयो । 

नेकपा (एकीकृत समाजवादी) पार्टीका जिल्ला अध्यक्ष मयाराम अधिकारीले स्थानीय तहको उपनिर्वाचनका लागि पार्टीका बैठकहरू बसिरहेको बताउनुभयो । उहाँले महाबु गाउँपालिकाको अध्यक्ष पदका लागि पार्टीका केन्द्रीय सदस्य जङ्गबहादुर शाहीलाई नै सर्वसम्मत उम्मेदवार बनाउने जनाउनुभयो । उहाँका अनुसार दुल्लु नगरपालिका–१३ को वडाध्यक्षको उम्मेदवार छनोट गर्ने स्थानीय कमिटीलाई जिम्मा दिइएको छ ।