• १० मंसिर २०८१, सोमबार

‘भ्रष्टाचार शून्यमा झार्न पारदर्शी व्यवहार’

blog

सिद्धार्थनगर समाचारदाता

सिद्धार्थनगर, कात्तिक ११ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार शून्यमा झार्न नेतृत्व तहमा रहेकाहरूले पारदर्शी व्यवहार देखाउनुपर्ने बताउनुभएको छ । 

भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना–२०८१ का बारेमा शनिबार भैरहवामा आयोजना गरिएको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सुशासनको क्षेत्रमा नेतृत्व तहमा रहेका सबैले पारदर्शी व्यवहार देखाउनुपर्ने बताउनुभएको हो । 

मुख्यमन्त्री आचार्यले वडा तहमा हुने भ्रष्टाचारका उजुरीलाई समेत हेर्ने गरी प्रमुख जिल्ला अधिकारीलाई अधिकार सम्पन्न बनाइनुपर्नेसमेत बताउनुभयो । उहाँले भन्नुभयो, “अख्तियारको प्रतिनिधिका रूपमा सिडियो हुन्थ्यो । त्यो व्यवस्था कायम गर्न जरुरी छ । किनकि तल वडा वडामा हुने अनियमिततालाई पनि हेर्न जरुरी छ । सुशासनको क्षेत्रमा हामी पारदर्शी बनौँ । हामी सबै पारदर्शी बन्यौँ भने भ्रष्टाचार आफैँ न्यूनीकरण भएर जान्छ ।” 

लुम्बिनी प्रदेशमा सुशासन कायम गर्न प्रदेश सरकारले रणनीतिक योजना बनाउने कामलाई अन्तिम चरणमा पु¥याएकोसमेत उहाँले जानकारी दिनुभयो । भ्रष्टाचारलाई शून्यमा झार्ने गरी सुशासन कायम गर्न प्रदेश सरकारले पाँचवर्से रणनीतिक योजना निर्माणको कामलाई अन्तिम चरणमा पु¥याएको उहाँले बताउनुभयो ।

भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धि कार्यान्वयन गर्ने सन्दर्भमा भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना निर्माण गर्न थालिएको छ । भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना कार्यान्वन गर्न प्रदेश सरकार र स्थानीय सरकारको भूमिका प्रभावकारी बनाउन जोड दिइएको छ । कार्यक्रममा भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजनाको कार्यपत्र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सहसचिव राजेन्द्र थापाले प्रस्तुत गर्नुभयो ।