• १० मंसिर २०८१, सोमबार

‘चुनावमा प्रतिस्पर्धा, देश बनाउन सहकार्य’

blog

नेकपा (एमाले) कास्कीले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै एमाले वरिष्ठ उपध्यक्ष ईश्वर पोखरेल । तस्बिर : गोरखापत्र

लेखनाथ समाचारदाता

लेखनाथ, कात्तिक ११ गते । नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देशका दुई ठुला दलको सहकार्यले समृद्धिको नयाँ मार्गचित्र कोर्ने उल्लेख गर्नुभएको छ । नेकपा (एमाले) कास्कीले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले यी ठुला दुई दलबिच आमनिर्वाचनका बेला प्रतिस्पर्धा र देशको विकास र समृद्धिका लागि सहकार्य हुने उल्लेख गर्नुभयो ।

“चुनावका बेला मुख्य दलबिच नै मुख्य प्रतिस्पर्धा हुन्छ,” उहाँले भन्नुभयो, “देश बनाउने दायित्व त सबैको हो । मुलुकको आवश्यकता हुँदा हाम्रो सहकार्य हुँदै आएको छ । अहिले पनि भएको छ । जनतामा आशाको सञ्चार भएको छ ।”

प्रमुख दलहरू विगतमा भएका त्रुटि, कमजोरीलाई सच्याएर अगाडि बढेको र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको एजेन्डालाई मजबुत बनाउने गरी काम भइरहेको उहाँको भनाइ छ । उपाध्यक्ष पोखरेलले सहकारी ठगीमा होस् या भ्रष्टाचार, त्यस संलग्न जुनसुकै पार्टीका भए पनि कानुनी कारबाही हुनुपर्नेमा जोड दिनुभयो । अनियमितता र भ्रष्टाचारमा फस्ने जोकोही पनि दण्ड, सजायको भागिदार बन्नुपर्ने उहाँको भनाइ छ ।

“सहकारीको मामिला, अपराधकर्म, भ्रष्टाचार र अनियमिततामा संलग्न व्यक्तिले छुट पाउँदैन । कानुनी रूपमा दण्डको भागिदार बन्नै पर्छ,” पोखरेलले थप्नुभयो, “यो कुनै दललाई जोडेर हेर्ने विषय होइन । सहकारीको रकम अपचलनमा दोषी देखिएका जुनसुकै पार्टीका नेता तथा कार्यकर्तालाई कानुनी रूपमा कारबाही हुनु पर्छ ।”

उहाँले लोकतन्त्र र सुशासनको कदर गर्दै सहकारी ठगी र भ्रष्टाचारको आरोप लागेका व्यक्तिलाई निलम्बन गर्न राजनीतिक दलहरूलाई सुझाव दिनुभयो । अदालतमा विचाराधीन मुद्दा र राज्यका विभिन्न निकायले गरिरहेका अनुसन्धान प्रभावित पार्ने गतिविधिलाई नियन्त्रण गरिनुपर्नेमा जोड दिनुभयो । कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेमाथि भइरहेको अनुसन्धान र जारी आन्दोलनलाई इङ्गित गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

एमाले गण्डकी इन्चार्ज किरण गुरुङले लोकतन्त्र र विधिको शासनको विकल्प अराजकता बन्नै नसक्ने तर्क गर्नुभयो । गण्डकीका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले कानुनी शासनको परिपालना र सुशासन प्रवर्धनले मात्र लोकतन्त्र सुदृढ हुने भएकाले नयाँ दलहरूले पनि यसलाई अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो ।