• १९ पुस २०८१, शुक्रबार

पुस्तक छपाइमा निजीको दायरा खुम्चिँदै

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ११ गते । सरकारले विद्यालय तहको पुस्तक छपाइमा निजी प्रकाशनगृहको दायर खुम्च्याउँदै लगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड आफैँले पुस्तक छपाइको रफ्तार बढाएपछि निजीको दायरा खुम्चिएको हो । 

विद्यालय तहका लागि आश्यक पर्ने पुस्तक छपाइको काम सरकारी स्वामित्वको जनक शिक्षाले गर्दै आएको छ तर शैक्षिक सत्र सुरु हुने बेलासम्म जनक शिक्षाबाट मात्रै छाप्दा विद्यालयमा आवश्यकता अनुसारको पुस्तक उपलब्ध गराउन नसक्ने अवस्था आएमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी प्रकाशनगृहको सहयोग लिने गरेको छ । विद्यालय तहमा कक्षा १ देखि १२ सम्मका लागि आवश्यक पर्ने पुस्तकमध्ये सरकारले गत वर्ष कक्षा १ देखि ४ सम्मको जिम्मेवारी निजी प्रकाशनगृहलाई दिएको थियो तर यस वर्ष भने निजी प्रकाशनले १, २ र ४ कक्षाको मात्रै पाठ्यपुस्तक छपाइ गर्न पाउने निर्णय भएको हो । कक्षा ३ को पुस्तक भने जनक शिक्षाले गत वर्ष नै छापिसकेको केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाले बताउनुभयो । 

उहाँका अनुसार जनक शिक्षालाई कक्षा १ देखि १२ सम्मकै पुस्तक छाप्ने अधिकार भए पनि व्यस्तताका कारण निजी प्रकाशनगृहका लागि छपाइ अनुमति दिइएको थिएन तर गत वर्ष आफूहरूले अन्य कक्षाका पुस्तक छपिसकेर बाँकी रहेको समयमा ३ कक्षाको पुस्तक पनि छापेको र उक्त पुस्तक आउने शैक्षिक सत्रमा प्रयोग गर्न मिल्ने भएका कारण जनक शिक्षा वा निजी कुनै पनि प्रकाशनगृहले छाप्न नपर्ने झाले बताउनुभयो । 

निजी प्रकाशनलाई १, २ र ४ कक्षाको जिम्मेवारी दिएको भए पनि जनक शिक्षाले १ देखि १२ कक्षासम्म नै छपाइ गर्न भने पाउँछ तर निजी प्रकाशनले भने सरकारले तोकेका कक्षाको मात्रै छपाइ गरेर बिक्रीवितरण गर्नुपर्ने हुन्छ । आउँदो शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक पुर्‍याउन छपाइ कसले गर्ने भन्ने बेलैमा निर्णय भएका कारण यस पटक पनि विद्यार्थीले भर्ना गरेकै दिन पाठ्यपुस्तक पाउने भएका छन् । 

विगतमा भने कुन निकायले कति पुस्तक छाप्न पाउने भन्ने निर्णय बेलैमा नहुँदा शैक्षिक सत्र सुरु भएको लामो समय बितिसक्दा पनि पुस्तक अभाव हुने गरेको थियो । यो मुद्दालाई सरकारको सफलता र असफलतासँग समेत जोडेर हेर्ने गरिएको थियो । तर पछिल्ला दुई वर्षदेखि भने पाठ्यपुस्तकको उपलब्धता सहज हुँदै गएको छ । 

चालु आर्थिक वर्षमा मात्रै जनक शिक्षाले कक्षा ३ देखि १२ सम्मका १६ लाख ७३ हजार दुई सय ३६ थान पाठ्यपुस्तक छापिसकेको छ । त्यसबाहेक चिकित्सा शिक्षा आयोग, शिक्षक सेवा आयोग, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, राष्ट्रिय परीक्षा बोर्डलगायतका सरकारी निकायबाट सञ्चालन हुने विभिन्न प्रकारका परीक्षाको  झन्डै १४ लाख थान प्रश्नपत्र पनि जनक शिक्षाले छपाइ गरिसकेको छ । सरकारले भर्खरै हुलाक टिकट, जग्गा धनी लालपुर्जा, भिसाको स्टिकर छपाइको जिम्मा पनि जनक शिक्षालाई नै दिएको छ ।