• १० मंसिर २०८१, सोमबार

खाँडाचक्र नगरपालिका सरकारी भवनमा

blog

खाँडाचक्र नगरपालिका सरेको मान्मस्थित सरकारी एकीकृत भवन । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा 

कालीकोट, कात्तिक १० गते। जिल्लाको खाँडाचक्र नगरपालिका सरकारी भवनमा सरेको छ। नगरपालिका अहिले मान्म बजारमा निमार्ण भएका दुई वटा ठुला एकीकृत भवन मध्य एउटा भवनमा सरेको छ। भवन निमार्ण सम्पन्न लगत्तै कोरोना अस्पतालका रूपमा प्रयोगमा रहेको एकीकृत भवन पछिल्लो समय खाली थियो। तर भवन सङ्घीय भएकाले स्थानीय तहलाई प्रयोग गर्न नमिल्ने कारण देखाउँदै खाँडाचक्र नगरपालिका भाडाको घरमा बस्दै आएको थियो। 

महालेखा परीक्षकको कार्यालयबाट आर्थिक वर्ष २०८१/०८२ मा कालीकोट जिल्लाको डोर प्रमुख भएर आउनु भएका डोर प्रमुख मुकुन्द्र घिमिरेले सरकारी भवन खाली रहेको र नगरपालिका भाडामा बस्न राम्रो नभएको भन्दै सुझाव दिएपछि नगरपालिका सरकारी भवनमा सरेको हो। 

नगरपालिकाका लेखा प्रमुख धीरबहादुर शाहीले नगरको ६० लाख बचत गराउने डोर प्रमुख मुकुन्द्र घिमिरे भएको बताउनुभयो। 

नगरपालिका भाडाको घरबाट सरकारी भवनमा सरेपछि वार्षिक नगरको ६० लाख बचत हुने भएको छ। यसमा केही रकम वडा कार्यालय, चार वटा प्रहरी चौकी र केही सामुदायिक स्वास्थ्य इकाईका लागि खर्च भए पनि अरू बजेट अब विकासे काममा लगाउन सकिने छ। नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रर्वलजंग शाहीले सरकारी सम्पत्तिको सदुपयोग गर्ने विषयमा सबै एक मत भएकाले सरकारी भवनमा सर्न सहज भएको बताउनुभयो।

यता नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रर्वलजंग शाहीले ठेक्का सम्झौता भइसकेकाले रद्ध गर्नु राम्रो नहुने भन्दै नगरपालिकाको पनि नमुना भवन बन्दा राम्रै हुने बताउनुभयो। नगरपालिकाको भवन निमार्णका लागि पनि जग्गा विवाद छ। तत्कालीन जिल्ला विकास समितिको नामको जग्गा नगरपालिकाको नाममा आए पनि त्यहाँ जिल्ला विकास समितिको गेस्ट हाउस समेत रहेकाले भत्काउन केही कानुनी नटिलता समेत रहेको बताइएको छ।