• २ माघ २०८१, बुधबार

‘दुखियाको हाँसोमा ईश्वरको बास’

blog

तस्बिर : रासस

जलेश्वर, कात्तिक ८ गते । वर्षभरि विभिन्न दुःख, पीडा र आर्थिक समस्यासँग जुध्दै आएको कुरा सुनाउँदै हिँड्ने जलेश्वर नगरपालिका–१ का रामजी डोम अहिले आफ्नै घर अगाडि मुसुमुसु हाँस्दै हातमा बाँस र बेंतका भाँडाकुंँडा बनाउँदै गरेको भेटिन्छन् । उहाँसहित उहाँका छोरा, नाति र घरका अन्य महिला पनि प्रसन्न मुद्रामा आपसमा विभिन्न कुराकानी गर्दै हातहातमा बाँस र बेंतको भाँडाकुँडा बनाइरहेको दृश्य हेर्दा जो कोहीलाई पनि खुसी हुन्छ । सायद यसैले भनिन्छ, ‘दुखियाको हाँसोमा ईश्वरको बास हुन्छ ।’ हो यस कुरालाई छठपर्वको बेला बाँस र बेंतबाट डालो, नाङ्लो र टपरी बनाउन जुटेका महोत्तरीका डोम समुदायले चरितार्थ गरेको छ । अधिकांश तराईबासीको प्रमुख पर्वको रुपमा रहेको छठको तीन साता मात्रै बाँकी रहेको बेला सधैँ खान, लाउन धौधौ पर्ने डोम जातिको मुहारमा पनि हाँसो र मनमा उल्लास छाएकाले साँच्चिकै ईश्वरको बास दुखियाको हाँसोमा रहेको देखिन्छ ।

गरिबी र विपन्नतामा पिल्सिएका वर्षैभरि गाउँगाउँमा सुङ्गुर डोर्‍याएर चहार्ने महोत्तरीका डोम समुदायलाई अहिले छठपर्व नजिकिँदै जाँदा बाँस र बेतका चोयाबाट डालो, नाङ्लो र टालुटपरी बनाउन भ्याइनभ्याइ भएको छ । गाँस, बास र कपासकै जोरजाममा हम्मेहम्मे पर्ने गरेको डोमहरुले छठपर्व आउनासाथ कात्तिक महिनाभर आफ्ना जीवनका हरेक दुःख बिर्सेर मीठोमसिनो खाने र राम्रो लगाउने सौभाग्य प्राप्त भएको मनरासिस्वा नगरपालिकाका–५७ वर्षीय हरिदेव डोमले बताउनुभयो ।

गाउँ, सहरमा हुने भोजभतेरबाट जुठोसमेत ल्याएर स–परिवार खाने गरेको डोमले कात्तिकमा नानाथरिका परिकार पकाएर खाने गरेको सोही ठाउँकी ६२ वर्षीया मरनी डोमिनले बताउनुभयो । डालो बुन्दै गरेकी जिल्लाको गौशाला नगरपालिकाकी ७० वर्षीया घुरनी डोमिनले गहभरि आँशु लिएर भन्नुभयो, “कात्तिक लाग्नेबितिक्कै घरका बच्चादेखि बुढासम्मले काम पाएर बिहानदेखि बेलुकासम्म डालो, नाङ्लो र टालुटपरी बनाउनमा तल्लीन हुन्छौँ भने बजारमा बेच्दा राम्रै आम्दानी हुने भएकाले हामी निकै खुसी हुन्छौँ । तर वर्षभरि काम नपाउने हुँदा फेरि केही दिनपछि उनीहरुको दुःख सुरु हुन्छ ।’’ छठपर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतकै चोयाबाटै बनाइएका डालो, नाङ्गलो र टालु टपरीमा अर्घ दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच÷सात वटा बाँसका भाँडाकुँडा किन्नुपर्दछ । सम्सी गाउँपालिकाका ६५ वर्षीय बेचना डोमले आफूहरु सोही कारण दिनरात व्रतालुहरुको निम्ति बाँसका भाँडा बनाउने गरेको सुनाउनुभयो ।

त्यस्तै जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकाका इन्दल डोमले डालो, नाङ्लो र टालुटपरी बेचेर कात्तिकमा वर्षभरिकै सबै ऋण चुक्ता गरेर केही रकम बचाउने गरेको बताउनुभयो । जिल्लाको भङ्गहा नगरपालिकाका सिरिया डोमका अनुसार घरका बालकदेखि बुढासम्मले डालो, नाङ्लो बेचेर प्रतिव्यक्ति ५०-६० देखि ७०-८० हजार र प्रत्येक परिवारले दुई-तीन लाखको हाराहारीमा आम्दानी गर्ने गर्दछन् । यतिबेला जिल्लाको प्रत्येक पालिकाको गाउँगाउँमा डोम जातिका प्रत्येक घरमा बाँस र बेतको थुप्रो राखिएको छ भने परिवारका सबैले बाँस र बेतका चोयाबाट सामग्री बनाउन व्यस्त देखिन्छन् । दिनदिनै छठपर्व मनाउनेहरुको सङ्ख्यामा वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पुर्‍याउन डोम जातिलाई भ्याइनभ्याइ भएको छ ।

पछिल्लो केही वर्षदेखि तराईमा मात्रै नभएर देशको राजधानी काठमाडौँसहित पोखरा, हेटौँडाजस्ता पहाडी क्षेत्रमा पनि छठपर्व मनाउन थालिएकाले तराईबाट बाँस र बेतबाट तयार भएका भाँडाकुँडा निर्यात हुने गरेको छ । छठपर्वको बेला महोत्तरीको विभिन्न १५ वटै पालिकामा उत्पादन गरिएको बाँस र बेंतका भाँडाकुँडा छठको बेला नेपालको राजधानी काठमाडौँसहित पोखरा, हेटौँडा, चितवन, बुटबल, धरान जस्ता पहाडी क्षेत्रका साथै भारतको मधुबनी, दरभङ्गा, सीतामढी, मुजफ्फरपुर र पटनासम्म पुग्ने गर्दछ ।

मिथिलाको प्रमुख पर्वको रुपमा रहेको छठपर्वका लागि प्रत्येक परिवारले अहिलेदेखि डोमको आँगन र पिँढीमा बाँस र बेतबाट बनेको भाँडाकुँडा खरिद गर्नका लागि पुग्न थालेको बताउँदै औरही नगरपालिकाका सुरेश डोमले आफू परिवारसहित राति अबेरसम्म काम गरेर बाँसका र बेंतका भाँडाकुँडा बनाउने गरेको बताउनुभयो । छठ व्रत सुरु हुनुदेखि अन्त्य हुनुसम्म छठव्रत मनाउने प्रत्येक परिवारले पूजा सामग्री तथा पूजाप्रसाद प्रयोग गर्न डोमले बनाएकै बाँसका भाँडाकुँडा प्रयोग गर्नुपर्ने हुन्छ । यस पर्वमा सूर्य देवतालाई चढाइने प्रत्येक वस्तु (प्रसाद) बाँस र बेतकै भाँडाकुँडामा राख्नुपर्ने प्रचलन रहेको र ती सामग्री डोम समुदायका व्यक्तिले नै बनाउने हुँदा उनीहरुको जीवनस्तरमा सुधार ल्याउने माध्यम बनेको पिपरा गाउँपालिकाका सुरेश डोम बताउनुहुन्छ । डोम समुदायले छठ पर्वको भाँडाकुँडा बनाएर व्रतालुलाई एकातिर सहयोग पुर्‍याएका छन् भने अर्कोतिर आर्थिक उपार्जन पनि भइरहेको छ ।

यसैबिच डोम समुदायका युवाहरुले आफूले छठपर्वको बेला बाँस र बेंतबाट उत्पादन गरेको डालो, नाङ्लो, ढकिया, कोनिया जस्ता भाँडाकुँडाको व्यापार छठपर्वको बेला मात्रै चल्ने भएकोप्रति चिन्तित हुँदै यसको वर्षभरिको बजारीकरणको लागि स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारसँगसमेत माग गरेका छन् । यस पर्वपछि पुनः उनीहरु आफ्नो पैतृक पेसा सुङुगुर पालनमै लाग्नुपर्ने बाध्यता रहेकाले उनीहरुले आफ्नो यस (बाँस र बेंतबाट भाँडाकँुडा बनाउने) पेसालाई वर्षभरि सञ्चालन पेसाको रुपमा विकास गरिदिएमा आफ्नो समुदायको जीवनस्तरमा सुधार आउने उनीहरुको विश्वास रहेको छ ।

महाभारतका अनुसार द्रौपदीसहित पाण्डवहरु अज्ञातवासमा रहँदा उक्त गुप्तावास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डवहरु मिथिलाको किरात राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि सम्पूर्ण मिथिला क्षेत्रमा छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य उपासना परम्पराको मोहक पद्दति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक छठपर्व पोखरी, नदी, तलाउ र अन्य जलाशयमा मनाउने गरिन्छ । धार्मिक आस्थाका साथै सामाजिक सद्भावको रुपमासमेत विकसित छठपर्व हिन्दूको सँगसँगै मुस्लिमहरुले पनि मनाउने गर्छन् । रासस