कावासोती समाचारदाता
कावासोती, कात्तिक ८ गते । गण्डकी प्रदेश भूमि व्यवस्था तथा कृषिमन्त्री पद्मा जिसीले मुलुकको समृद्धिको आधार नै कृषि क्षेत्र रहेको बताउनुभएको छ । देशको आर्थिक विकासका निम्ति कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर सबैले काम गर्नुपर्नेमा जोड दिनुभयो । बुधबार नवलपुरको कावासोतीमा आयोजित समुदायस्तरमा प्रशोधनयोग्य, खायन आलु प्रवर्धनसम्बन्धी कृषक तथा सरोकारवालासँगको अभिमुखीकरणमा यस्तो बताउनुभएको हो ।
मन्त्री जिसीले अहिलेको परिवेशमा जलवायु परिवर्तनले उत्पादकत्वमा कमी आउने बताउनुभयो । अझै पनि निर्वाहमुखी खेती नै भइरहेको अवस्था रहेकाले आत्मनिर्भर र व्यावसायिक तवरले कृषि गर्नुपर्ने बताउनुभयो । वैज्ञानिक, आधुनिकीकरण र यान्त्रिकीकरण अनुसार कृषि गर्न किसानलाई प्रोत्साहन गर्न सबै पक्ष लाग्नुपर्ने बताउनुभयो । गण्डकी प्रदेश सरकारले सिँचाइ अभावले कुनै जग्गा बाँझो नरहने गरी योजना बनाउने बताउनुभयो ।
समयमा मल, बिउ, सिँचाइ र अनुदान दिन सक्ने हो भने कृषिमा क्रान्ति ल्याउन सकिने गण्डकी प्रदेश कृषि विकास निर्देशनालयका महानिर्देशक वासुदेव रेग्मीले बताउनुभयो । गण्डकी प्रदेश उर्वरभूमि भएको प्रदेश भएकाले यहाँ कुन ठाउँमा के खेती गर्न सकिन्छ भन्ने पहिचान गरी कृषि गर्ने हो भने निर्यातलाई कम र आयातलाई बढी गर्न सकिने उहाँले बताउनुभयो । गत वर्षदेखि प्रदेशमा समुदायस्तरमा प्रशोधनयोग्य, खायन आलु प्रवर्धन कार्यक्रम सञ्चालन गरेको भए पनि प्रभावकारी भएको बताउनुभयो ।
नवलपुरमा आलु खेती गरिने क्षेत्र र उत्पादन बर्सेनि बढ्दै गएको छ । किसानले आलु खेतीतर्फ चासो देखाउन थालेपछि कृषि ज्ञान केन्द्रले लगानी गर्दै आएको छ । कृषि ज्ञान केन्द्रसँगै स्थानीय पालिकाले आलु खेती प्रवर्धन अन्तर्गत अनुदान कार्यक्रम सञ्चालन गर्न थालेपछि आलु खेतीतर्फ कृषक आकर्षित भएका छन् ।
नवलपुरको समुदायस्तरमा प्रशोधनयोग्य आलु प्रवर्धन कार्यक्रम अन्तर्गत गत वर्ष ९० हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको र अहिले १११ हेक्टर क्षेत्रफलमा कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । नवलपुरमा गत आर्थिक वर्षमा एक हजार ९९२ मेट्रिक टन आलु उत्पादन भएको छ । यसबाट सात करोड ८९ लाख २४ हजार बराबरको आलु बिक्री भएको उहाँले बताउनुभयो ।
जिल्लामा व्यावसायिक आलु खेती गर्ने किसानको सङ्ख्या प्रत्येक वर्ष बढेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा देखिएको छ । पछिल्लो चार वर्षको आलु खेती गरिने क्षेत्रफल र उत्पादन हेर्दा प्रत्येक वर्ष वृद्धि हुँदै गएको देखिएको छ । जिल्लाको मध्यविन्दु, कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिका क्षेत्रमा आलु राम्रो उत्पादन हुने गरेको छ । सो क्षेत्रमा व्यावसायिक रूपमा आलु उत्पादन गर्ने कृषक र कृषि समूहको सङ्ख्या उल्लेख्य रहेको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख तिवारीले बताउनुभयो । किसानले उत्पादन गरेको आलु स्थानीय बजारका साथै बुटवल, नारायणगढ र काठमाडौँलगायतका बजारमा जाने गरेको छ ।