• २७ पुस २०८१, शनिबार

पूर्वाधार निर्माण वैज्ञानिक र गुणस्तरीय बनाउनुपर्छ : मन्त्री केसी

blog

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसी पाँच दिने तालिमको उद्घाटन गर्नुहुँदै । तस्बिर : सन्तोष सुवेदी

सन्तोष सुवेदी
कास्की, कात्तिक ७ गते ।
 गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले प्रदेश र सङ्घ सरकारले पुल, सडक निर्माणमा बजेटको ठुलो हिस्सा खर्च गरिरहेको जनाउँदै पुल निर्माण वैज्ञानिक र गुणस्तरीय बनाउनै पर्नेमा जोड दिनुभएको छ ।

गण्डकी प्रदेश पूर्वाधार विकास निर्देशनालयको आयोजना र स्विस सरकारको सहयोगमा सञ्चालित स्थानीय सडक पुल कार्यक्रम इकाईको व्यवस्थापनमा भएको पाँच दिने तालिम सुरु गर्दै मन्त्री केसीले यस्तो धारणा राख्नुभएको हो ।

तालिममा गण्डकी प्रदेशका विभिन्न कार्यालयका प्राविधिकहरुलाई मोटरेबल पुल निर्माणबारे विभिन्न विषयमा ज्ञान दिइनेछ । मन्त्री केसीले तालिममा सहभागी भई सडक, पुलहरूको नक्सा अध्ययन, डिजाइन, निर्माणसम्बन्धी सीप, ज्ञान सिक्न र त्यो ज्ञान व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो ।

कर्मचारीले स्थायी सरकारको रूपमा जनताले अनुभूत गर्ने गरी सेवा प्रदान गर्नुपर्ने विचार राख्दै मन्त्री केसीले राम्रो कामका लागि मन्त्रालयको ढोका सधैँ खुला रहेको जनाउनुभयो । प्रदेश लोक सेवाबाट आएका नयाँ कर्मचारीलाई सीप र दक्षता सिकाउन सुरु भएको पर्यवेक्षण तालिममा ३६ प्राविधिक सहभागी छन् ।

तालिममा पुल, पुलका पार्टपुर्जा, लेआउट, कङ्क्रिटको परीक्षण, मिश्रण, आरसिसी संरचनाको गुणस्तर नियन्त्रण, विवरण, सामग्री ढुवानीको पक्ष, ब्रिज फाउन्डेसन, ओपन फाउन्डेसन, डिप फाउन्डेसन उत्खनन, विस्तार, जोइन्ट, वोल्ट वायारिङ, गुणस्तर आश्वासन योजना आदिबारे जानकारी दिइनेछ । 

प्रशिक्षार्थीलाई विभिन्न समूहमा विभाजित गरी मोटरेबल पुलका विभिन्न अवस्था, देखा पर्ने समस्या र न्यूनीकरण गर्ने उपायबारे सिकाइनेछ । स्विस सरकारको सहयोगमा सञ्चालित स्थानीय सडक पुल कार्यक्रमका कार्यालय प्रमुख साखिल मानन्धरले पहिले नेपालमा मोटरेबल सडक विभागले मात्र बनाउने गरेको स्मरण गर्दै धेरै ठाउँमा कर्मचारी र आवश्यक सामग्रीको अभावले गर्दा काम ढिलो हुने गरेको जानकारी दिनुभयो । भौगोलिक कारणले नेपालमा धेरै पुल चाहिने उल्लेख गर्दै उहाँले सडक र पुलको गुणस्तर योजनाबद्ध रूपमा सुधार्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो ।