• १० कात्तिक २०८१, शनिबार

पोलियो अन्त्यका लागि अभियान सञ्चालन गरिने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ७ गते । रोटरी इन्टरनेसनलले पोलियो अन्त्यका लागि अभियान सञ्चालन गर्ने भएको छ । सोमबार रोटरी इन्टरनेसनलले आयोजना गरेको पत्रकार सम्मेलनमा रोटरीले पोलियो अन्त्यका लागि अभियानसहित सात वटै प्रदेशमा पोलियोविरुद्ध जनचेतना कार्यक्रम सञ्चालन गर्ने जानकारी दिइयो । 

पत्रकार सम्मेलनमा रोटरी इन्टरनेसनलका डिस्ट्रिक्ट गर्भनर राजेन्द्रमान शेरचनले  नेपालभरका रोटरी क्लबले पोलियो अन्त्य अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । उहाँले आउँदो बिहीबार पोलियो रोगविरुद्ध जावलाखेलबाट साइकल र्‍यालीको आयोजना गरिने बताउनुभयो । शेरचनले धरहरा तथा विभिन्न सहरका टावर तथा व्यापारिक केन्द्रमा पोलियो अन्त्यका लागि सन्देश प्रदर्शनी गरिने जानकारी दिनुभयो ।  

शेरचनले नेपालमा प्रमाणित रूपमा पोलियोका बिरामी नभए पनि पोलियो देखा पर्न सक्ने चुनौती रहेको बताउनुभयो । नेपालमा सन् २०१४ मा पोलियो उन्मूलनको घोषणा भएको थियो । केही महिनाअघि मात्र काठमाडौँमा ढलको पानीमा पोलियो भेटिएको थियो । नेपालमा सन् २०१० मा ३२ जनालाई पोलियो देखा परेको थियो । चार वर्षसम्म एक जनालाई पोलियो नदेखिएपछि सन् २०१४ मा पोलियो उन्मूलन घोषणा गरिएको थियो । 

रोटरी इन्टरनेसनलका जनसम्पर्क प्रमुख अनिल गिरीले रोटरीले स्वास्थ्य क्षेत्रमा विशेष काम गर्दै आएको जानकारी दिनुभयो । उहाँले पोलियो अन्त्यका लागि रोटरीले विश्वभर प्रभावकारी रूपमा काम गर्दै आएको बताउनुभयो ।