• १० मंसिर २०८१, सोमबार

धारापानी-झिनडाँडा सडक स्तरोन्नति हुँदै

blog

सडक स्तरोन्नतिको काम गरिँदै । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, कात्तिक ६ गते । सदरमुकाम बेनीसँग धवलागिरि गाउँपालिकालाई जोड्ने बेनी-दरबाङ-ताकम-मुना सडक योजना अन्तर्गत धवलागिरि गाउँपालिका-७ धारापानीदेखि ताकम-शिवाङ हुँदै झिनडाँडासम्मको सडक स्तरोन्नतिको कामले गति लिएको छ । सडक निर्माणको जिम्मा लिएको निर्माण व्यवसायीले प्रयाप्त मात्रामा मजदुर र उपकरण परिचालन गरेर सडक निर्माणलाई गति दिएको छ ।  

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको वैकल्पिक सडक मानिएको उक्त सडक योजना कार्यान्वयन गर्न गण्डकी प्रदेश सरकारमार्फत् बजेट विनियोजन सडक स्तरोन्नतिको काम थालिएको हो । योजना अन्तर्गत धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गरिने पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । 

डेढ दशकअघि मार्ग खुलेको सडक स्तरोन्नति थालिएको धवलागिरि–७ का वडाध्यक्ष अशोक खत्रीले जानकारी दिनुभयो । स्थानीयको सहमति र आग्रहअनुसार धारापानी तथा ताकम गाउँभित्रको सडकलाई पक्की बनाउने गरी डिजाइन गरिएको छ । 

चार किलोमिटर दूरी यो सडक स्तरोन्नतिका लागि विसं २०८१ जेठ २० गते रामसागर–बिएस धौलागिरि जेभी र पूर्वाधार विकास कार्यालयबीच  १४ करोड ६१ लाख ६१ हजार रुपियाँमा ठेक्का सम्झौता गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । 

ठेक्का सम्झौता भए लगत्तै निर्माण व्यवसायी कार्यस्थलमा परिचालन गरी सडक स्तरोन्नतिको कामलाई तिव्रता दिएको उहाँले बताउनुभयो । असार देखि परिचालन भएको निर्माण व्यवसायीले साउन, भदौ र असोज महिनामा काम गरेको उहाँले बताउनुभयो । दुई वर्षको ठेक्का अवधि भएको योजनाको निर्माण कम्पनीले सडक फराकिलो पार्ने, नाली र टेवा पर्खाल निर्माणको काम थालेको उहाँले बताउनुभयो । आठ मिटरका दरले सडकलाई फराकिलो बनाइने भएको छ । 

म्याग्दी १ (२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले यो सडक आयोजनाअन्तर्गत झिनडाँडादेखि मुनातर्फ र हालै ग्राभेल भएको दरवाङ–धारापानी खण्डमा कालोपत्रसहित स्तरोन्नति गर्न प्रदेश तथा संघीय सरकारको लागत साझेदारीमा एक अर्ब बजेटको आयोजनाको यसै आर्थिक वर्षदेखि सुरु हुने जानकारी दिनुभयो  ।

हाल मरेनी पुगेको कच्ची सडकलाई विस्तार गरेर ढोरपाटन जोड्न सडक डिभिजन कार्यालयमार्फत कार्यान्वयन हुने गरी थप छ करोड ५० लाख रुपियाँ विनियोजन भएको छ । सडक स्तरोन्नति सुरु भएपछि स्थानीयवासीहरु खुसी भएका छन् ।