• १० कात्तिक २०८१, शनिबार

राम्रो गर्ने कोसिस हुन्छ, नराम्रो हुन दिन्न : मुख्यमन्त्री कँडेल

blog

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, कात्तिक ६ गते । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो कार्यकालमा राम्रो कामको लागि प्रयास गर्ने, नसकिएमा नराम्रो हुन नदिने बताउनुभएको छ । 

मङ्गलबार नेकपा एमाले रुकुमपश्चिमको कार्यालयमा आयोजित पार्टीको जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री कँडेलले आफूले पारदर्शी, भेदभावरहित र विधिको विकास चाहेको उल्लेख गर्नुहुँदै गलत बाटोबाट फाइदा लिनेहरुर्ला किनारा लगाएरै छोड्ने बताउनुभयो । 

एमाले पोलिटब्युरो सदस्य समेत रहनुभएका कँडेलले शान्ति प्रक्रियापछि निरन्तर सरकारमा रहेको नेकपा माओवादी केन्द्र अहिले सडकमा पुगेको र उसले सत्ता र शक्तिको हतियार गुमाएपछि छटपटी सुरु हुन थालेको बताउनुभयो । ०८४ सम्म वर्तमान सत्ता गठबन्धन जाने र त्यतिन्जेल माओवादीको अवस्था नाजुक बन्ने उहाँले उल्लेख गर्नुभयो । 

स्थानीय तहदेखि केन्द्रसम्म माओवादीले नेतृत्व गरेको यस जिल्लामा अनुदानको दुरुपयोग, विकासका योजना अलपत्र, कृषि र सहकारीको अनुदान लथालिङ्ग भएको उल्लेख गर्नुहुँदै उहाँले माओवादीले रुकुममा गरेको भेदभाव, पक्षपात, हिनामिना अब नटिक्ने दाबी गर्नुभयो । 

बैठकमा उहाँले दल बलियो बनाएर मात्र विकास र निर्माणको मुद्दा उठाउन तर्फ लाग्नुपर्ने समेत जनाउनुभयो । राजनीतिक अवस्था बदलिएको बताउनुहुँदै उहाँले अब जनताको अवस्था बदल्ने जिम्मेवारी एमालेकै काँधमा आएको बताउनुभयो । उहाँले जनताको बिचमा गएर कुरा राख्न सुरु गरेमा पार्टी निर्माणको आधार बन्ने बताउनुभयो । 

नेपाली कांग्रेससँगको सत्ता सहकार्यबारे उहाँले आवश्यकताको उपज भएको बताउनुभयो । उहाँले भन्नुभयो, "सिद्धान्त, विचार र गन्तव्य मिलेर नेपाली कांग्रेससँग सहकार्य भएको हैन । तर ऐतिहासिक अवस्थाहरूमा विगतमा मिलेर परिवर्तन ल्याएका उदाहरण छन् ।"

अस्थिर सरकारको कारण जनतामा उत्पन्न भएको निराशालाई आशामा परिणत गर्न, अस्थिरतालाई स्थिरतामा लैजान, अर्थतन्त्र सुदृढ गर्न, विकास र निर्माणको काम अगाडि बढाउन कांग्रेससँग सहकार्य भएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछाने लगायतका राजनीतिक ज्योतिष कहलिनेहरूले सककार ढल्ने फगत कुरा ओकल्ने गरेको जनाउनुभयो । उहाँले कमजोरको सहारा एकता मात्रै भएकोले पार्टीभित्र आन्तरिक एकता आवश्यक रहेको बताउनुभयो। पदमा भए पनि नभए पनि जनता र कार्यकर्ताले नेता मान्ने आधार बनाउनुपर्ने उहाँको भनाइ छ ।