• १० मंसिर २०८१, सोमबार

खेतमै झर्न थाल्यो पाकेको धान

blog

पानीका कारण थन्क्याउन नपाएको धान ।तस्बिर : अर्जुन काफ्ले

स्याङ्जा समाचारदाता  

स्याङ्जा, कात्तिक ६ गते । लगातार परेको वर्षाले स्याङ्जाका विभिन्न ठाउँमा किसानले लगाएको धान बिग्रेको छ । बेमौसममा लगातार पानी परिरहेकाले वर्षभरि दुःख गरेर फलाएको धान किसानले घर भित्र्याउन नपाउँदा तनाव भएको छ । 

कुन दिन घाम लाग्छ र धान राम्रोसँग भित्र्याउन पाइन्छ भन्दाभन्दै खेतमा धान पाकेर झर्न थालेकाले चिन्ता बढेको पुतलीबजारका सुकबहादुर नेपालीले बताउनुभयो । रातभरि आएको पानीले सुकेको धान पूरै भिजेको बताउँदै नेपालीले काटेको बाली थन्क्याउन नपाउँदा निद्रा पनि नलागेको गुनासो गर्नुभयो । 

धान काटिसकेका किसानका खेतमा पानीको ताल परेर धान डुबेको छ भने काटिसकेको धानका निन पानीमा डुबेका छन् । यहाँ विगत एक हप्तादेखि लगातार जसो पानी परेर किसानको धान खेतमै कुहिएको हो भने परालसमेत काम नलाग्ने अवस्थामा पुगिसकेको छ । 

यस पटक प्रायः हाइब्रिड जातका धान लगाइएकाले कात्तिक नलाग्दै पाकेको र पानीको चपेटामा परेको किसान रामेश्वर लामिछानेले बताउनुभयो । धान राम्रो फलेको बताउँदै लामिछानेले काटेको धान सबै भिजेको र बिग्रिएको बताउनुभयो । मौसम अनुकूल भएको भए यतिबेलासम्म धेरै जसो पहाडी फाँट र टारीको धान करिब थन्क्याउने बेला मौसम प्रतिकूलताका कारण किसानको मेहनतको फल खेतमै खेर जाने अवस्था आएको हो । 

घाम नलाग्ने छाँट देखेपछि कतिपय किसानले धान पाकेर खेतमा झर्नुभन्दा पानीमै भिजाएर भए पनि धान ठटाएर लैजान थालेका छन् । यहाँको पुतलीबजार, फेदीखोला, आँधीखोला, अर्जुनचौपारी, भिरकोटलगायतका पालिकाका विभिन्न फाँट तथा टारी खेतमा लगाइएको धान पाकेर पहेँलपुर भए पनि किसानले थन्क्याउन नपाएका हुन् । 

चालु आर्थिक वर्षमा पर्याप्त वर्षाका कारण यहाँ ९९ प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले बताउनुभयो । गल्याङ र चापाकोटमा सिँचाइमा पहिरोका कारण केही समय ढिला भए पनि रोपाइँ धेरै भएको हो । यहाँ १४ हजार आठ सय हेक्टरमा बर्खे र दुई हजार हेक्टर क्षेत्रफलमा हिउँदे गरी १६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको छ ।  

स्याङ्जाको आँधीखोला किनार, कालीगण्डकी नदी किनार, ज्याग्दीखोला किनार, चापाकोट टार, रत्नपुर, कुवाकोट, गल्याङ, सेतीदोभान फाँट र बिरुवा फाँट धान खेतीका उर्वर क्षेत्र हुन् भने यहाँ तराईका फाँटमा झैँ धान उत्पादन हुने गरेको छ । यस्तै दहथुम, स्वरेक, खिलुङ, पुतलीबजार नगरपालिका, वालिङ नगरपालिका, चापाकोट, रत्नपुर, मल्याङकोट, चिन्नेवास, सेतीदोभान, बिरुवा, बिर्घा, अर्जुनचौपारी, राङभाङ, तुलसीभन्ज्याङ, जगत्भन्ज्याङ पनि धान उत्पादन हुने प्रमुख क्षेत्र हुन् ।