• ५ कात्तिक २०८१, सोमबार

सवारी दुर्घटना न्यूनीकरण गर्न राजमार्गमा 'टाइम कार्ड'

blog

जिल्ला ट्राफिक प्रहरी कार्यालयले लागु गरेको टाईम कार्ड । तस्बिर : सुजन काफ्ले

सुजन काफ्ले

चरीकोट, कार्तिक ५ गते । सवारी दुर्घटना न्यूनीकरण गर्न प्रमुख राजमार्गमा ‘टाइम कार्ड’ लागु गरिएको छ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय दोलखाले चाडपर्वलाई लक्षित गरी ‘टाइम कार्ड’ लागु गरेको हो ।

सडकमा सवारीसाधनको अत्यधिक चाप बढ्ने, तीव्र गतिमा सवारीसाधन चलाउने तथा सवारी नियमको उल्लङ्घनसमेत बढ्न गई हुनसक्ने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न राजमार्गमा ‘टाइम कार्ड’ लागु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख ठाकुर भट्टराईले बताउनुभयो ।

बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि टाइम–कार्ड एउटा उत्तम विकल्प भएको यसले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा रहेको भट्टराईले बताउनुभयो । जिल्लामा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न टाइम–कार्ड लागु गर्ने र त्यसका लागि ट्राफिक प्रहरी र यातायात व्यवसायी बसेर टाइम–कार्ड बनाएर लागु गरिएको उहाँको भनाइ छ । 

दुर्घटना न्यूनीकरणका लागि टाइम–कार्ड प्रभावकारी हुन सक्छ भन्ने उद्देश्यले लागु गरिएको उहाँले बताउनुभयो । जिल्लाको भीमेश्वर नगरपालिका –९ खरिढुङ्गा चेकपोस्ट सदरमुकाम चरिकोट सातदोबाटो चोक सम्म २२ किलोमिटर यात्रा गर्न १ घण्टा समय तोकिएको छ । 

त्यसैगरी, चरिकोट बाट तामाकोसी गाउँपालिका–५ किर्नेटार चेक पोस्टसम्म ३९ किलोमिटर यात्रा गर्न १ घण्टा ३५ मिनेट र चरिकोटबाट जिरी सम्म ५६ किलोमिटर यात्रा गर्न २ घण्टा १५ मिनेट समय तोकिएको छ। अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधनका हकमा यो नियम लागु हुने हुँदा दुर्घटना न्यूनीकरण हुने आशा ट्राफिकको रहेको छ ।

"जिल्लामा तीव्र गतिसँगै खाल्डाखुल्डी, पुराना गाडीलगायत मानवीय गल्तीका कारण पनि दुर्घटना हुने गरेका छन्", ट्राफिक प्रहरी प्रमुख भट्टराईले भन्नुभयो, "टाइम–कार्ड समग्र रूपमा दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने सबैको अपेक्षा छ ।" टाइम–कार्ड लागु गरे पनि मुख्य कुरा सचेतना आवश्यक रहेको भन्दै यसतर्फ ध्यान दिन सके धेरै दुर्घटना कम गर्न सकिने जिल्ला ट्राफिक प्रहरी प्रमुख भट्टराई बताउनुहुन्छ ।

साँघुरो र खराब बाटोसँगै ओभरटेक गर्न खोज्दा धेरै दुर्घटना हुने गरेका छन्। त्यसलाई रोक्ने हो भने दुर्घटनामा कमी आउने देखिन्छ । टाइम–कार्ड लागु भए चालकले पालना गरे नगरेको प्रभावकारी रूपमा अनुगमन गर्ने र पालना नगर्नेलाई कारबाही गर्न सके दुर्घटनामा कमी आउने प्रहरीले जनाएको छ । त्यससँगै क्षमताभन्दा बढी यात्रु नराख्ने, प्रत्येक गाडीले अपाङ्गमैत्री, महिला, ज्येष्ठ नागरिक र विद्यार्थीलाई आरक्षण सिट छुट्याएर यात्रा गराउनुपर्ने छ।