• ५ कात्तिक २०८१, सोमबार

वडामै पुगेर राष्ट्रिय परिचयपत्र वितरण

blog

रमेश विश्वकर्मा

गुल्मी, कात्तिक ५ गते । गुल्मीमा वडामै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्न लागिएको छ । कात्तिक ८ गते बिहीबारदेखि यस जिल्लामा वडा तहमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्न लागिएको हो । पहिलो चरणमा यहाँका स्थानीय तहका वडामा पुगेर राष्ट्रिय परिचयपत्र बनाउनका लागि वैयक्तिक र जैविक विवरण सङ्कलन अभियान गरिएको थियो ।

सातौँ जिल्लाका रूपमा गुल्मीमा पनि तयार भएर आएका राष्ट्रिय परिचयपत्रका कार्डलाई वडामै पुगेर वितरण अभियान सुरु गर्न लागिएको हो । पहिलो चरणमा धुर्कोट, कालीगण्डकी, गुल्मीदरबार र इस्मा गाउँपालिकाका वडामा नै पुगेर कार्ड वितरण गर्न लागिएको छ । राष्ट्रिय परिचयपत्र वितरण गर्न बाँकी रहेका स्थानीय तहमा तिहार पछि वितरण कार्य सुरु गरिने बताइएको छ ।

जिल्ला प्रशासन कार्यालयको सभाहलमा स्थानीय तहका जनप्रतिनिधि एवम् सरोकारवालासंगको अन्तरक्रियामा यस जिल्लाबाट राष्ट्रिय परिचयपत्रका लागि हालसम्म एक लाख ९४ हजार ४३२ जनाको विवरण सङ्कलन भएमा एक लाख ६४ हजार ४२३ जनाको कार्ड छपाई भएको राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका निर्देशक तुलसी प्रसाद दाहालले जानकारी दिनुभयो ।

निर्देशक दाहालका अनुसार जिल्ला प्रशासन कार्यालय गुल्मीबाट ६६ हजार ३१५ जनाको विवरण सङ्कलन गरिएको छ । जसमा ४० हजार ६९४ जनाको कार्ड छापिएकोमध्ये हालसम्म प्रशासन कार्यालयबाट पाँच हजार ४६१ जनालाई कार्ड वितरण गरिएको पाइएको उहाँले जानकारी दिनुभयो । वडा तहमै पुगेर अभियानका क्रममा विवरण सङ्कलन गरेर छापिएर आएका कार्डहरूलाई पुनः वडा तहमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्न लागिएको हो ।

अभियानका क्रममा यस जिल्लाको रेसुङ्गा नगरपालिकाबाट १३ हजार २७ जनाको विवरण सङ्कलन गरिएको थियो । जसमध्ये १२ हजार ५४२ जनाको कार्ड छापिएको छ । मुसिकोट नगरपालिकाबाट १४ हजार ६४१ जनाको विवरण सङ्कलन गरिएको थियो । जसमध्ये १३ हजार ९०५ जनाको कार्ड छापिएको छ । कालीगण्डकी गाउँपालिकाबाट नौ हजार २३ जनाको विवरण सङ्कलन गरिएको थियो । जसमध्ये आठ हजार ७८२ जनाको कार्ड छापिएको छ ।

सत्यवती गाउँपालिकाबाट १० हजार ६४४ जनाको विवरण सङ्कलन गरिएको थियो । जसमध्ये १० हजार ४२२ जनाको कार्ड छापिएको छ । चन्द्रकोट गाउँपालिकाबाट नौ हजार २१२ जनाको विवरण सङ्कलन गरिएको थियो । जसमध्ये आठ हजार ९१४ जनाको कार्ड छापिएको छ । छत्रकोट गाउँपालिकाबाट १० हजार ३९३ जनाको विवरण सङ्कलन गरिएको थियो । जसमध्ये १० हजार ५५ जनाको कार्ड छापिएको छ । गुल्मीदरबार गाउँपालिकाबाट ११ हजार ५२१ जनाको विवरण सङ्कलन गरिएको थियो । जसमध्ये ११ हजार २५८ जनाको कार्ड छापिएको छ ।

इस्मा गाउँपालिकाबाट नौ हजार ३४६ जनाको विवरण सङ्कलन गरिएको थियो । जसमध्ये नौ हजार ५० जनाको कार्ड छापिएको छ । धुर्कोट गाउँपालिकाबाट १० हजार ७७३ जनाको विवरण सङ्कलन गरिएको थियो । जसमध्ये १० हजार ३८१ जनाको कार्ड छापिएको छ । मदाने गाउँपालिकाबाट नौ हजार ७४६ जनाको विवरण सङ्कलन गरिएको थियो । जसमध्ये नौ हजार ३४३ जनाको कार्ड छापिएको छ । मालिका गाउँपालिकाबाट १० हजार २१५ जनाको विवरण सङ्कलन गरिएको थियो । जसमध्ये नौ हजार ८५७ जनाको कार्ड छापिएको छ ।

यस जिल्लामा राष्ट्रिय परिचयपत्र छापिएर आएको हुँदा वडामै पुगेर कार्ड वितरण अभियान थालिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले बताउनुभयो । राष्ट्रिय परिचयपत्र लिँदा पुनः जैविक विवरण चेकजाँच गरी वितरण गर्नुपर्ने भएकाले सम्बन्धित व्यक्तिले नागरिकता, राष्ट्रिय परिचयपत्रको लागि विवरण सङ्कलन गर्दाको सक्कली रसिद अनिवार्य लिएर जानुपर्ने उहाँको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयबाट विवरण सङ्कलन गरिएको राष्ट्रिय परिचयपत्रको कार्ड जिल्ला प्रशासन कार्यालयबाटै वितरण गरिने बताइएको छ । यसरी वडामै पुगेर राष्ट्रिय परिचयपत्रको कार्ड वितरण अभियानमा विवरण सङ्कलन गराउनुभएका कुनै पनि नागरिक छुट्न नहुने भन्दै जिल्ला समन्वय समिति प्रमुख द्रोण बहादुर खत्रीले अभियानलाई विशेष महत्त्व दिएर स्थानीय तहले व्यापक रूपमा प्रचारप्रसार गर्न जरुरी रहेको बताउनुभयो ।