• ५ कात्तिक २०८१, सोमबार

वधशाला निर्माण अलपत्र

blog

निर्माणाधीन अवस्थामा रहेको वधशाला । तस्बिर : लीलाधर वली

घोराही समाचारदाता

घोराही, कात्तिक ५ गते । बजेट अभावका कारण घोराहीमा आधुनिक वधशाला निर्माणको काम अलपत्र परेको छ । घोराहीमा मासु पसल व्यवस्थितसँगै एकद्वार प्रणालीबाट स्वच्छ र सफा मासु बिक्रीवितरण गर्ने उद्देश्यले निर्माण सुरु भए पनि पूरा हुन सकेको छैन । लामो समयसम्म वधशाला निर्माणको काम नहुँदा निर्माण भएका भवन जीर्ण बन्न थालेका छन् । 

आर्थिक वर्ष २०७६/७७ मा गुरुयोजना बनाएर आव २०७७/७८ बाट वधशाला निर्माणको काम सुरु भए पनि बजेट अभावका कारण विगत दुई वर्षदेखि अलपत्र बन्न पुगेको छ । 

घोराही उपमानगरपालिका–१४, कपासीमा निर्माण हुन थालेको वधशालाको काम विगत दुई वर्षदेखि काम रोकिएको कपासी टोल विकास संस्थाका कोषाध्यक्ष दलबहादुर वलीले बताउनुभयो । उहाँका अनुसार पशु वधशालाका लागि प्रशासनिक भवन, पशु चेकजाँच गर्ने कक्ष, वध गर्ने दुई वटा टहरा, मासु बिक्री गर्ने सटर निर्माण गरिएको छ ।  

मासु बजारलाई व्यवस्थित गर्ने गरी वधशाला निर्माणको कामलाई अघि बढाएको भए पनि बजेट नहुँदा अहिले वधशाला निर्माणकै काम हुन सकेको छैन । बजारमा छरिएर रहेका मासु पसललाई व्यवस्थित गर्ने र उपभोक्तालाई स्वच्छ र सफा मासुको व्यवस्था गर्ने उद्देश्य अनुसार लुम्बिनी प्रदेश सरकारको ७५ प्रतिशत र घोराही उपमहानगरपालिकाको २५ प्रतिशत लागतमा निर्माण सुरु भएको थियो । 

जस अन्तर्गत वधशालाका लागि प्रशासनिक भवन, पशु चेकजाँच कक्ष र मासु बिक्रीका लागि १० वटा सटर निर्माण गरिए पनि बाँकी संरचना निर्माण हुन नसक्दा अलपत्र परेको छ । गुरुयोजना अनुसार वधशाला निर्माणका लागि करिब १० करोड रुपियाँको स्टिमेट भए पनि अहिलेसम्म करिब तीन करोड रुपियाँ खर्च भइसकेको घोराही उपमहानगरपालिका सहरी विकास, पूर्वाधार तथा भवन मापदण्ड कार्यान्वयन महाशाखा प्रमुख इन्जिनियर युवराज पौडेलले बताउनुभयो । उहाँका अनुसार प्रदेश सरकारको डेढ करोड र घोराही उपमहानगरपालिकाको ६० लाखभन्दा बढी खर्च भइसकेको छ ।  उक्त रकम प्रशासनिक भवन, पशु चेकजाँच कक्ष, मासु बिक्री कक्षसँगै डिपिआर बनाउनमा खर्च भएको महाशाखा प्रमुख पौडेलले बताउनुभयो । उहाँका अनुसार वधशाला स्थलमा पशुपन्छी राख्ने खोर, पानीका लागि ओभरहेड ट्याङ्की, पशुको स्वास्थ्य परीक्षणका लागि आवश्यक उपकरणलगायतको व्यवस्था गर्नुपर्ने भए पनि बजेट अभावका कारण गर्न सकिएको छैन । गत वर्ष घोराही उपमहानगरपालिकाको बजेटबाट डिप बोरिङ खन्ने काम गरिए पनि बाँकी काम हुन सकेको छैन । 

घोराहीमा दैनिक एक हजार पाँच सयदेखि दुई हजारसम्म मासु खपत हुने भए पनि वधशाला नहुँदा मासुको बजार व्यवस्थित हुन सकेको छैन । वधशाला निर्माणको काम सक्ने गरी रोल्पा निर्माण सेवा र लक्ष्मीपूजा कन्स्ट्रक्सनले ठेक्का पाएका थिए ।