• ५ कात्तिक २०८१, सोमबार

धान डुबाएपछि किसान चिन्तामा

blog

रौतहट समाचारदाता

रौतहट, कात्तिक ५ गते । काटेर खेतमै सुकाएको धान शनिबार राति परेको पानीले डुबाएपछि रौतहटका किसान चिन्तित भएका छन् । दसैँ सकिएसँगै उत्साहका साथ धान भिœयाउन जुटेका किसानको धान काटिसकेपछि एक्कासि डुबानमा प-यो । 

चन्द्रपुर नगरपालिका–६ का किसान रमेश कोइरीको १० कट्ठामा लगाएको धान खेतमै डुबेको छ । उहाँ भन्नुहुन्छ, “भकारीमा पुग्नुपर्ने धान खेतमै डुबेपछि धान पाँजामै उम्रने वा कुहिने भयो । झन्डै कट्ठाको साढे चार मन हुने गरी फलेको धान डुबानमा परेपछि के गर्नु कसो गर्नु भएको छ ।” गुजरा नगरपालिका–४ का जीवन साह पनि धान काटेर झार्नका निम्ति थ्रेसरको पालो कुर्दाकुर्र्दै एक्कासि पूरै धान डुबेकोमा चिन्तामा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “डुबानमा परेको धानको न भात मिठो हुन्छ न त राम्रो दाममै बिक्री हुन्छ । चामल किनेर खानुपर्ने अवस्था आयो ।”

वृन्दावन नगरपालिका–२ का किसान दिवाकर पटेल भन्नुहुन्छ, “झरीसँगै आएको हुरीले पाक्न लागेको धान सबै झारिदिएको छ । वृन्दावनको करिब सय बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको धान ढलेका कारण उत्पादनमा निकै घट्ने भयो ।”

जिल्ला कृषि ज्ञान केन्द्र रौतहटका निमित्त कार्यालय प्रमुख सुरेन्द्रप्रसाद कुर्मीका अुनसार एक रातको बेमौसमी झरीले जिल्लाका अधिकांश क्षेत्रमा पाक्न लागेको र पाकेर काटेको धानमा निकै क्षति पुगेको छ । जिल्लामा ३८ हजार सात सय हेक्टर जमिनमा धान खेती हुँदै आएको छ । बर्सातको समयमा आएको बाढी र शनिबारको बेमौसमी झरीले धान खेत डुबानमा पर्दा उत्पादनमा ठुलो ह्रास आउने कार्यालय प्रमुख कुर्मी बताउनुहुन्छ ।

काटेको धानमा व्यापक क्षति 

यसैबिच सर्लाही समाचारदाताका अनुसार शनिबार राति भएको बेमौसमी वर्षाले धान बालीमा व्यापक क्षति पु¥याएको छ । केही दिनदेखि मौसम धाम्मधुम्म भइरहेका बेला डराई डराई धान काटेका किसानलाई शनिबार राति भएको ठुलो वर्षाले धान भिजाएपछि निराश पारेको छ । पानीसँगै हावाहुरीसमेत चल्दा भर्खरै पसाएको धान बालीसमेत भुइँमा लडाएको किसानले बताएका छन् । 

काटेर खेतमा सुकाएको धान वर्षाले डुबाएको बरहथवा नगरपालिका–१, हजरियाका किसान सन्जित मुखियाले गुनासो गर्नुभयो । “रातभर परेको पानीले पूरै फाँटको धान भिजाएर बिजोग पा¥यो,” मुखियाले भन्नुभयो, “वर्ष दिनसम्म खाने धान बाली भिजाएपछि सबैको रुवाबासी छ ।” 

पानीमा चुर्लुम्म डुबेको धानका पाँजा उठाएर किसानले खेतको आलीमा सुकाउन सुरु गरेका छन् । मजदुर अभावमा बल्लतल्ल धान काटेका किसानलाई पानी परेर धान डुबाएपछि थप समस्या परेको छ । 

वर्षाले जिल्लाको हजरिया, राजघाट, बरहथवा, लालबन्दी, ईश्वरपुरलगायत क्षेत्रका किसानले काटेर सुकाएको धान बालीमा व्यापक क्षति गरेको हो । लालबन्दी नगरपालिका–२, नवलपुरका किसान कृष्ण दाहालले शनिबार दिउँसो मात्रै काटेर सुकाएको धान रातिको पानीले डुबाएको बताउनुभयो । दसैँ मनाएलगत्तै जिल्लाका किसानले धमाधम धान काटिरहेका थिए । 

कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख देवानन्द रायले वर्षाले जिल्लाका २० वटै पालिकाको धान बालीमा धेरै क्षति पु¥याएको र विवरण लिने काम भइरहेको बताउनुभयो । “अगाडि नै पाक्ने धान लगाएका किसानले धमाधम धान भिœयाइरहेका थिए तर रातिको पानीले धेरै किसानको धान भिजाएको छ,” रायले भन्नुभयो, “पछि पाक्ने धान लगाएका किसानको समेत धानको बोट लडाएर धेरै नै क्षति गरेको छ ।” रायले भिजेको धान तत्कालै आली वा अन्य ओभानो ठाउँमा सुकाइहाल्न सुझाव दिनुभयो । भिजेको धान तत्काल ओभानो ठाउँमा सारेर नसुकाए उम्रिने डर हुने कृषिविज्ञको भनाइ छ । 

त्यस्तै बेमौसमी वर्षाले भर्खरै छरिएको तोरी, चना, मुसुरो, आलसलगायतका दलहन तथा तेलहन बालीमा समेत क्षति गरेको किसानले बताएका छन् । ती बाली दोहो-याएर छर्नुपर्ने अवस्था आएको किसानको दुःखेसो छ । त्यसै गरी रातिको भीषण वर्षाले गोलभेँडा, कोभी, आलुु, मुला, सागपातलगायत अन्य तरकारीमा उत्तिकै क्षति पु-याएको लालबन्दी नगरपालिकाको कृषि शाखाका प्रमुख गोकर्ण पौडेलले बताउनुभयो ।