• १० मंसिर २०८१, सोमबार

स्टिमर सेवा पुनः सुरु

blog

कालीगण्डकी नदीको स्टिमरमा जलयात्रा गरिँदै । तस्बिर : तिलाचन पाण्डे

तम्घास समाचारदाता

तम्घास, कात्तिक ५ गते । जेठ महिनाबाट कालीगण्डकी नदीमा बन्द रहेको स्टिमर सेवा पुनः सुरु भएको छ । वर्खायामको समयमा पानीको बहाव बढेका कारण स्याङ्जाको आधीमुहान मिर्मीदेखि सेतीवेणीसम्म स्टिमर सेवा बन्द रहेको थियो । कालीगण्डकी नदीमा बन्द रहेको स्टिमर सेवा कात्तिकको पहिलो साताबाट सुचारु भएको शिला शालिग्राम कालीगण्डकी जलयातायात प्रालिका अध्यक्ष डोलराज भट्टराईले जानकारी दिनुभयो ।

गुल्मी खण्डको कालीगण्डकी कोरिडोर र पर्वत खण्डको कालीगण्डकी लोकमार्ग खुलेपछि अहिले मेला पर्व, आन्तरिक पर्यटक र शिला शालिग्राम दर्शन गर्नेमा मात्र सीमित रहेको उहाँको भनाइ छ । कहिलेकाहीँ अवलोकन गर्न आउनेले स्टिमर रिजर्भ गरेर सेतीवेणी शिला शालिग्रामको दर्शन गर्न आउनेजाने गर्ने गरे पनि नियमित रूपमा यात्रुको अभावका कारण चल्न नसकेको भट्टराईको भनाइ छ ।

पहिले यात्रुको चाप बढी भएर खचाखच भरिने स्टिमर अहिले कहिले यात्रु आउलान् भनेर टुलु टुलु हेर्नुपर्ने अवस्था आएको भट्टराईले बताउनुभयो । विगतमा सेतीवेणी बजारका व्यापारी, बागलुङ, गुल्मी र पर्वतका व्यापारीले स्टिमरबाट सामान पनि ढुवानी गर्दा सस्तो पनि हुने र स्टिमरको व्यापार पनि राम्रो भएको स्टिमरधनीले स्मरण गर्दै आएका छन् ।

गुल्मी खण्ड, स्याङ्जा र पर्वत खण्डमा जताततै मोटरबाटोको पहुँच भएका कारण पनि स्टिमर सञ्चालनमा अहिले प्रभाव परेको उहाँले बताउनुभयो । कालीगण्डकी नदीमा मिर्मीदेखि सेतीवेणीसम्म छ किलोमिटर जलयात्राको समय ३० देखि ४५ मिनेटसम्मको रहने छ ।