• ५ कात्तिक २०८१, सोमबार

किसान धान भित्र्याउन व्यस्त

blog

उपकरणले धान झाँट्दै किसान । तस्बिर : मीना कँडेल

कावासोती  समाचारदाता

कावासोती, कात्तिक ५ गते । पूर्वी नवलपरासीका किसान यतिबेला धान काट्न र थन्क्याउनमा व्यस्त रहेका छन् । मानो रोपेर मुरी भित्र्याउने अहिलेको समयमा दसैँ सकिएलगत्तै किसान धान थन्क्याउनमा व्यस्त रहेका हुन् । जिल्लामा अहिलेसम्म ६० प्रतिशत किसानले धान थन्क्याइसकेका कृषि ज्ञान केन्द्रले जनाएको छ । अबको २० दिनभित्र सबै धान थन्क्याइसक्ने कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो ।

जिल्लामा यस वर्ष करिब १८ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको तिवारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा सिफारिस भएका ८६ जातमध्ये सात जातका मात्र रैथाने धानको खेती हुने गरेको छ । जिल्लामा धानको उत्पादन सरदर प्रतिहेक्टर तीन हजार केजी हुने गरेको छ ।” यस वर्ष वर्षा केही कम भए पनि समयमै पानी परेर रोपाइँ भएकाले उत्पादन राम्रो हुने अनुमान गरिएको थियो तर असोज ११ र १२ गते आएको बाढीले दुई सय प्रतिशत धानमा क्षति पुगेकाले पहिलाको अनुपातमा उत्पादनमा केही कमी हुन सक्ने आफूहरूको अनुमान रहेको उहाँले बताउनुभयो ।

पछिल्लो समय कृषि क्षेत्रमा विभिन्न मेसिनरी उपकरण भित्रिएपछि काम गर्न सहज हुँदै गएको छ । खेतीबाली लगाउनदेखि भित्र्याउनका लागि मेसिनरी उपकरण प्रयोगमा आएकाले कृषि क्षेत्रको विकासमा सहज भएको कृषकले बताएका छन् । 

देवचुलीका कृषक शोभा भण्डारीले धान काट्ने मेसिन र धान झाट्ने थ्रेसरको प्रयोगले आफूहरूलाई सहज भएको बताउनुभयो । “पहिले पहिले दुई/तीन दिन दिनभर धान काट्नु पर्ने साथै कामदार पनि बढी लाग्ने गर्दथ्यो भने झार्न र थन्क्याउन छुट्टै कामदार लगाउँदा समय र खर्च धेरै लाग्ने, दुःख हुने गरेको थियो ।” 

कावासोती १५ का देवनारायण महतो बिहान र साँझ खेतको फाँटमा (हाते ट्याक्टर) ले धान काट्न निस्कनुहुन्छ । दिउँसोको समयमा अन्य काममा व्यस्त रहने देवनारायण मेसिनरी उपकरण आएसँगै आफूलाई सहज भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “खेताला पनि नपाइने र पाए पनि महँगो तिर्नुपर्ने तर एकै पटक पैसा खर्च गरेर मेसिनरी उपकरण (हाते ट्याक्टर) लिएपछि धेरै सहज भएको छ ।” यस उपकरणको प्रयोग गर्दा कामदार कम लाग्ने, समयको बचत र परालको दाँइ गर्नसमेत नपर्ने हुँदा आफूहरूलाई धेरै सुविधा भएको महतोको भनाइ छ ।  बिदेसिने प्रवृत्तिले जनशक्तिको अभावमा विभिन्न समस्या भए पनि अब उपकरण भित्रिएपछि कृषकलाई सहज भएको छ ।