• ५ कात्तिक २०८१, सोमबार

दसैँपछि गाउँ सुनसान

blog

अमरराज नहर्की

तनहुँ, कात्तिक ५ गते । दसैँ सकिएसँगै तनहुँका गाउँबस्ती विस्तारै सुनसान हुँदै गएका छन् । दसैँ  मनाउन बिदामा गाउँ आएका आआफ्नो कार्यक्षेत्रतिर फर्किएपछि गाउँबस्ती सुनसान देखिएका हुन् । अध्ययन, रोजगार तथा विभिन्न कामले बजार क्षेत्रमा बस्दै आएका दसैँ मनाउन गाउँ आएका थिए । चाडपर्व सकिएलगत्तै गाउँ आएका धमाधम बजार झर्न थालेपछि गाउँ सुनसान बन्न थालेको व्यास नगरपालिका–८ का वडा सदस्य रामप्रसाद मिश्रले बताउनुभयो । 

मिश्रले भन्नुभयो, “दसैँ मनाउन थातथलोमा फर्किएर आएपछि दसैँभर गाउँघरमा निकै रमाइलो भयो । देश विदेशमा रहेका आफन्तसँग भेटघाट, रमाइलोले दिन बितेको पत्तै भएन । दसैँ सकिएसँगै अधिकांश आआफ्नो कार्यक्षेत्रमा फर्किन थालेसँगै सुनसान भएको छ ।”  

चाडपर्व मनाउन विदेशबाट घर आएका स्थानीय काममा फर्किन सुरु गरिसकेका छन् । उनीहरू फर्किन थालेसँगै गाउँ सुनसान हुन पुगेको व्यास नगरपालिका–६, साँजास्थित रत्नज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक देउराज गुरुङले जानकारी दिनुभयो । पहिला तीन सय घर रहेको गाउँमा हाल ६५ घर मात्रै रहेको त्यहाँ रहेका अधिकांश युवा विदेश रहेकाले सुनसान बनेको गुरुङले बताउनुभयो ।