• ५ कात्तिक २०८१, सोमबार

एक सयभन्दा बढी खानेपानी आयोजनामा क्षति

blog

केदार तिमल्सिना 

बनेपा, कात्तिक ५ गते । असोज दोस्रो साता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालित तथा निर्माणाधीन खानेपानीका आयोजनामा क्षति पुगेको छ । बाढीपहिरोले गाउँमा सञ्चालित खानेपानी आयोजना ध्वस्त भएपछि नागरिक खानेपानीको पाइप माग्न सदरमुकाम धुलिखेल धाउने क्रम बढेको छ । 

क्षति पुगेका खानेपानी आयोजनालाई अस्थायी रूपमा सञ्चालन गरी तत्कालका लागि खानेपानी व्यवस्थापन गर्न मागसहित धुलिखेलस्थित खानेपानी तथा सरसफाइ ३ नम्बर डिभिजन कार्यालयको धुलिखेलस्थित सम्पर्क कार्यालयमा धाए पनि उपभोक्ताले पर्याप्त मात्रामा पाइप पाउन सकेका छैनन् । बाढीपहिरोका कारण जिल्लामा सङ्घीय, प्रदेश र स्थानीय सरकारबाट सञ्चालित एक सयभन्दा बढी आयोजनामा क्षति पुगेपछि नागरिक गुणस्तरीय खानेपानीबाट वञ्चित बनेका हुन् । खानेपानी तथा सरसफाइ ३ नम्बर डिभिजन कार्यालय सिन्धुपाल्चोकका निमित्त डिभिजन प्रमुख इन्जिनियर दिलीप कुमारले असोज दोस्रो सातामा आएको बाढीपहिरोबाट काभ्रेपलाञ्चोक जिल्लामा कात्तिक १ गतेसम्म ८२ वटा लिफ्ट, ग्राभिटी खानेपानी आयोजनामा क्षति पुगेको तथ्याङ्क आएको बताउनुभयो । उहाँले बाढीपहिरोका कारण क्षति पुगेका खानेपानी आयोजनाको तथ्याङ्क आउने व्रmम जारी रहेकोले एक सयभन्दा बढी आयोजनामा क्षति पुगेको बताउनुभयो । 

“८२ वटा खानेपानी आयोजनामा एक अर्ब रुपियाँ बराबरको क्षति भएको विवरण आएको छ, सबै स्थानीय तहबाट अझै विवरण आउन सकेको छैन, स्थानीय तहहरूलाई खानेपानी आयोजनामा पुगेको क्षतिको विवरण पठाउन टेलिफोन तथा पत्रको माध्यमबाट अनुरोध गरेका छौ,” प्रमुख दिलीप कुमारले भन्नुभयो । उहाँले भुम्लु बृहत् खानेपानी, कटुन्जे लिफ्टिङ, सीताघारी खानेपानी, रोसी औद्योगिक ग्राम र कालढुङ्गा बजार व्यवस्थित खानेपानी आयोजना, भूमिडाँडा बृहत् खानेपानी आयोजना, भदौरेछाप–फेट्टार–मुकुटार–सिहाले, बकुलछार–फलाङ्गे बृहत् खानेपानी, इन्द्रावती कोलाचौर लिफ्ट खानेपानी, भुम्लु सापिङ खानेपानीलगायतका योजनाको क्षतिको विवरण प्राप्त भएको बताउनुभयो ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरका आयोजना प्रमुख इन्जिनियर राजेन्द्रप्रसाद श्रेष्ठले बाढीपहिरोबाट काभ्रेपलाञ्चोकमा सञ्चालनमा रहेका दुई वटा र निर्माणाधीन सात वटा योजनामा क्षति पुगेको बताउनुभयो । उहाँले सञ्चालनमा रहेको तिमाल बृहत् (सुक्खा क्षेत्र) खानेपानी तथा सरसफाइ आयोजनामा क्षति पुग्दा आठ हजार ३७३ घरधुरी र चौँरीखोला ढोकेडाँडा खानेपानी आयोजनामा क्षति हुँदा एक हजार ९०३ घरपरिवार खानेपानी सुविधाबाट वञ्चित भएको बताउनुभयो । बाढीपहिरोबाट काभ्रेपलाञ्चोकमा निर्माणाधीन भकुन्डेबेँसी–खनालथोक–खाक्सी–दाप्चा क्षेत्र बृहत् खानेपानी, काशीखण्ड बृहत् खानेपानी, नमोबुद्ध बृहत् खानेपानी, पनौती बसपार्क गुणस्तर खानेपानी, सुनकोशी कोशीदेखा खानेपानी गुणस्तर सुधार आयोजना, साँगा बृहत् खानेपानी आयोजना र पाँचखाल भमरकोट लिफ्ट खानेपानी आयोजनामा क्षति पुगेको आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो । बाढीपहिरोबाट खानेपानी आयोजनाको पाइपलाइन, सम्पवेल, विद्युत् ट्रान्सफर्मर, पाइपलाइन, पानी सङ्कलन ट्याङ्कीलगायतमा क्षति भएको आयोजनाले जनाएको छ । 

बाढीपहिरोका धुलिखेल खानेपानी, पाँचखाल बृहत् खानेपानी आयोजना, काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनामा ठुलो क्षति पुगेको छ । पाँचखाल बृहत् खानेपानी आयोजनाका आयोजना प्रमुख इन्द्रमानसिं बस्नेतले बाढीपहिरोबाट सुनकोशी नदीमा रहेको इन्टेकमा लेदो जमेको, करिब दुई किलोमिटर खानेपानीको पाइपलाइन, १२ वटा बिजुली पोल, खानेपानीको करिब दुई किलोमिटर हाइटेन्सन तार, खानेपानीको ट्याङ्की, इन्टेकको कम्पाउन्ड पर्खाल, तारबार र ग्याबिन पर्खालमा क्षति पुगेको भन्दै क्षति भएका आयोजनाको काम सम्पन्न गर्न छ महिनाभन्दा बढी समय लाग्ने बताउनुभयो ।