• ५ कात्तिक २०८१, सोमबार

मलेसियाले बढायो पारिश्रमिक

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, कात्तिक ५ गते । मलेसिया सरकारले आप्रवासी श्रमिकको न्यूनतम पारिश्रमिक दुई सय रिङ्गेट बढाउने घोषणा गरेको छ । आगामी १ फेब्रुवरी २०२५ देखि लागु हुने गरी पारिश्रमिक बढाउने घोषणा मलेसिया सरकारले गरेको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ । हाल मलेसियामा कार्यरत आप्रवासी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक एक हजार पाँच सय रिङ्गेट रहेको छ । दूतावासका अनुसार मलेसियाले सन् २०२५ बाट लागु गर्ने गरी वृद्धि गरेको एक हजार सात सय रिङ्गेट आधारभूत तलब विदेशी श्रमिकका हकमा पनि लागु हुने जनाइएको छ । 

नीति क्षेत्रमा काम गर्ने विदेशी श्रमिक पनि सन् २०२५ को फेब्रुवरीदेखि लागु हुने नयाँ तलबको हकदार भएको त्यहाँको राष्ट्रिय ज्याला निर्धारण समितिको सचिवालयबाट प्राप्त भएको दूतावासले जनाएको छ । त्यसो त मलेसिया सरकारले ज्यालामा भेदभाव गर्न नपाइने अभिसन्धि नं १०० लाई सन् १९९७ मा नै पारित गरिसकेको छ । 

दूतावासका अनुसार यस्तै पाँच जनाभन्दा कम श्रमिक रहेका उद्योग तथा कम्पनीले वृद्धि भएको न्यूनतम पारिश्रमिक छ महिनापछि अर्थात् २०२५ अगस्टदेखि लागु गर्नुपर्ने जनाइएको छ ।