• ५ कात्तिक २०८१, सोमबार

लोभ लाग्दो ‘साग’ खेती

blog

भिमफेदी–५ माथिल्लो सुपिङ्गका किसान कृष्णप्रसाद (द्रोण) पुडासैनीले गर्नुभएको रायोको खेती । तस्बिर : मधुसूदन पुडासैनी

अनिल पराजुली

हेटौँडा, कात्तिक ४ गते । मकवानपुरको भिमफेदी–५ स्थित माथिल्लो सुपिङ्गका किसान कृष्णप्रसाद (द्रोण) पुडासैनीले गर्नुभएको रायोको सागको खेती लोभलाग्दो छ । उहाँले करिब पाँच रोपनी बारीमा रायोको खेती गर्नुभएको छ । 

स्थानीय स्तरमै पाइने रैथाने रायोको उहाँले खेती गर्नुभएको हो । पहिला–पहिला घरमा खानलाई मात्रै साग लगाउने गरे पनि उहाँले विगत १० वर्षदेखि परिवारका सदस्य मिलेर खेती गर्नुभएको छ । सुपिङ्ग क्षेत्रमा पुडासैनी जस्तै अन्य किसानले पनि रायोको सागको खेती गर्नुभएको छ । 

यहाँको रायो स्थानीय स्तरमा भिमफेदी र हेटौँडा बजारमा खपत हुने गरेको छ । धेरै साग उत्पादन भएका बेला काठमाडौँमा बिक्रीका लागि पठाउने गरेको स्थानीय मधुसूदन पुडासैनीले जानकारी दिनुभयो । यहाँको हावापानीमा रायोसँगै काँक्रो खेती पनि हुनेगरेको छ । दसैँमा यहाँका किसानले ६० रुपियाँ सम्ममा रायोको साग बिक्री गर्नुभएको थियो भने अहिले सागको उत्पादन बढेसँगै ४० देखि ५० रुपियाँ मुठ्ठामा बिक्री हुनेगरेको छ । विषादीको प्रयोग नगरी अर्गानिक साग खेती गर्ने गरिएको पुडासैनीले बताउनुभयो ।