• १० कात्तिक २०८१, शनिबार

दाइजो हटाउन अभियान सुरु

blog

गोपाल सेवा समिति लहानद्वारा सिरहा सप्तरीका जनप्रतिनिधिहरु सममानित भएर मञ्चमा । तस्बिरः जीवछ यादव

जीवछ यादव

लहान, कात्तिक ४ गते । यादव समुदायका सिराहा सप्तरीका विभिन्न तहमा निर्वाचित जनप्रतिनिधिहरुले सामाजिक कलङ्कका रुपमा रहेको दाइजोप्रथा हटाउन अभियान नै थाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

यादवहरुको स्वजातीय सङ्गठन गोपाल सेवा समितिले लहानले आयोजना गरेको यादव समुदायका जनप्रतिनिधिलाई सम्मान तथा दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यमा यस्तो प्रतिबद्धता जनाएका हुन् । 

प्रमुख अतिथि पूर्व सूचना सञ्चार तथा प्रविधि मन्त्री सिराहा–२ का सङ्घीय सांसद राजकिशोर यादवले मधेश प्रदेशको सबैभन्दा बढी जनसङ्ख्या रहेको यादव समुदायले मधेशमा रहेको दाइजो प्रथाको अन्तय र मृत्यु भोजको न्यूनीकरणको लागि गोपाल सेवा समितिले अगुवाइ गर्नुपर्ने मधेश सिराहा र सप्तरीबाट जितेका यादव समुदायका जनप्रतिनिधिहरु पनि यस अभियानमा जोडिनुपर्ने बताउनुभयो । उहाँले थप्नुभयो, "समाजमा जातयि जहर घोल्ने काम होइन, सबै जातिलाई सँगै लिएर जाने कार्य यादव समुदायबाट हुनुपर्छ । देश र प्रदेश निर्माणममा सबैको भूमिका आवश्यक छ । गोपाल सेवा समितिलाई समाजकल्याण मन्त्रालयमा दर्ता गराएर सामाजिक विकृति हटाउनतर्फ उन्मुख हुन जरुरी छ ।"

यादव समुदायको इतिहास गौरवपूर्ण र दान गर्ने मानव सेवामा लाग्ने रहेको स्मरण राष्ट्रिसभाका सांसद मृगेन्द्रकुमार सिंह यादवले गराउनुभयो । "दाइजो र मृत्यु भोजलाई नियणत्रण नगर्ने हो भने यसले मधेशमा लैङ्गिक विभेद र असमानतालाई मलजल गरिरहनेछ । यादव समुदाय कृष्णको वंश भएकोले न्याय र सत्यको पक्षमा उभिन जरुरी छ," उहाँले जोड दिनुभयो । 

सिरहा–१ का सङ्घीय सांसद रामशङ्कर यादवले गोपाल सेवा समिति सङ्कीर्णताबाट मुक्त भ व्यापकताको सिद्धान्तमा अघि बढ्न आवश्यक रहेको सल्लाह दिनसुभयो । अर्का सङ्घीय सांसद गङ्गाप्रसाद यादवले दाइजो र मृत्यु भोजको अन्त्य गर्न आफ्नो घरबाट सुरु गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा सिराहा नगरपालिकाका नगरप्रमुख नवीनकुमार यादव, सप्तरी बोदे बर्साइन नगरपालिकाका नगरप्रमुख आतेशकुमार यादव, सिराहा नरहा गाउँपालिका अध्यक्ष रामप्रबोध यादव, सिराहा भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादव, सप्तरी बलानबिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव प्रदेशसभा सदस्य अनिरुद्रप्रसाद सिंह यादव, पूर्व प्रदेशसभा सदस्य अशोककुमार यादव, वडाध्यक्षहरु नवीन यादव, धनिकलाल यादव, अजयकुमार यादव लगायतका जनप्रतिनिधिलाई गम्छा ओढाएर सम्मान गरिएको थियो । 

कार्यक्रमको सुरुवातमा २३ जना युवाले रक्तदान गरेका थिए । रत्तदान गरेका युवाहरुलाई समेत गम्छा ओढाएर सम्मान गरिएको कार्यक्रममा जनही एक कोठा भवन निर्माण वापतका तीन लाख एकाउन्न हजार चन्दा दिने धनेश्वर यादव, देवनारायण यादव र सुनिलकुमार यादवलाई सम्मान गरिएको थियो । 

गोपाल सेवा समितिको भवन निर्माणको लागि धनछवार निवासी बेचन यादवले एक बिघा जग्गा दान गर्नुभएको थियो भने कचनारी निवासी जितेन्द्र यादवले दस लाख दिएर शिलान्यास गर्नुभएको थियो । कार्यक्रम गोपाल सेवा समिति लहानका अध्यक्ष गाणेश यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।