• १ मंसिर २०८१, शनिबार

लोक आस्थाको छठ : विविध आयाम

blog

परिचय र  महत्त्व

नेपालमा मुख्यतः मैथिली तथा भोजपुरी समुदायले मनाउने हिन्दुहरूको पर्वमध्ये महìवपूर्ण धार्मिक एवं सांस्कृतिकपर्व छठ (छइठ, छठी, षष्ठी) पर्व हो । यो पर्व मुख्यतः नेपालको मध्य र पूर्वी तराई क्षेत्रका साथै भारतको बिहार, उत्तरप्रदेश र झारखण्डमा धुमधामका साथ मनाइने गरिन्छ । सन्तान प्राप्ति, पारिवारिक सुखशान्ति, समृद्धि र स्वास्थ्यको कामना गर्दै मनाइने यस पर्वमा श्रद्धा एवं भक्तिपूर्वक सूर्य देवता (दिनकर दिनानाथ) र छठी माई (षष्ठी मातृका भगवती) को पूजाअर्चना गरिन्छ । पवित्र मनले सूर्य देवतालाई अर्घ (अघ्र्य) दिँदा सन्तान सुख, पारिवारको कल्याण तथा मनोकामना पूरा हुने लोकमान्यता  छ ।

चार दिनसम्म चल्ने यो पर्व कात्तिक महिनाको शुक्लपक्षको चतुर्थी तिथिदेखि  सप्तमी तिथिसम्म मनाइन्छ । चोखो भएर सम्पूर्ण समर्पणसहित गरिने यस पर्वमा पूजाको विधि विधान कडाइपूर्वक पालन गरिन्छ । यसमा कुनै व्यवधान वा त्रुटि भक्तमा अनिष्ट हुने गर्छ । पहिलो दिनको पूजाअर्चनालाई नहाय खाय वा अरबा अरबाइन भनिन्छ । उक्त दिन हात र गोडाको नङ काटेर पोखरी, नदी, वा  कुनै पवित्र जलाशयमा नुहाइधुवाइ गरेपछि लसुन प्याज नहालेको चोखो (शुद्ध) शाकाहारी खाना खाने गरिन्छ । दोस्रो दिन खरना पूजा (दिनभर व्रत बसेर साँझपख छठीमाईलाई सक्खर र दुध मिसाए पकाएको खिर, पाकेको केरा नैवेद्य अर्पण गरेर प्रसादको रूपमा ग्रहण गर्ने), तेस्रो दिन सन्ध्या अघ्र्य वा अर्घ (अस्ताउँदो सूर्यको पूजा) र चौथो दिन उषा अघ्र्य (उदाउँदो सूर्यको पूजा) सँग यो पर्वको समापन हुन्छ । छठ पर्वको चौथो दिनलाई पारन (पारायणको अपभ्रंश ) पनि भनिन्छ ।

सामान्यतः छठ पर्व सूर्यको किरण सीधा पर्ने नदी, पोखरी, नहर वा जलाशयको किनारमा गरिन्छ । पूजास्थल (घाट) को साफसफाइ गरेर उक्त स्थानलाई पवित्र बनाएर त्यहाँ अर्घको सामग्री राखी पूजा गरिन्छ । गहँुको पिठो र सखर मुछेर ठेकुआ, चामलको पिठो र सखरबाट बनाइएको भुसुवा (कसार) तथा विभिन्न फलफूल केरा, उखु स्याउ, सुन्तला, ज्यामिर (जमिरी नेबो), सिँघारा, नरिवल, भोगटे साथै अन्य मौसमी फलफूल तथा हरियो तरकारी, मुला, गाजर, बोडी हरियो बेसार, अदुवा, नरिवल, केरा प्रसादका रूपमा चढाइन्छ । साथै विभिन्न परिकार घरमै तयार गरिने गरिन्छ । सबै सामग्रीलाई बाँसको सुप (नाङ्लो), कनसुप्ती, डगरी, ढाकी (चँगेरा), माटोद्वारा निर्मित ढकनी, कोसिया–कुरबार (माटोको सानो ढकनी र घैँटो जसमा ढकनीमा ठेकुआ र केरा राखिन्छ र त्यसमा दीप राखेर बालिन्छ), माटोकै हात्तीको पिठ्युँमा बलेको दीप सजाएर राखिएको हुन्छ । व्रतालुहरू पानीमा पसेर डाला (अर्घ) हातमा लिएर सूर्यास्तको समय पश्चिमतिर फर्केर सूर्यलाई सन्ध्या अर्घ दिन्छन् । कति व्रतालु घर फर्किन्छन् भने कति आफ्ना परिवारजनसहित घाटमै (पूजास्थल) मा रातभरि जाग्राम बसेर छठ परमेश्वरी र दिनकर दिनानाथ (सूर्यदेव) को गीत गाएर रमाइलो गर्छन् । पुनः सूर्योदयभन्दा पहिले सबेरै उठी पूजास्थल पुगी पानीमा पसेर पूर्वतिर फर्की उदाउँदो सूर्यलाई अर्घ दिएर छठको समापन गर्ने गरिन्छ । त्यसपश्चात श्रद्धापूर्वक सबैले प्रसाद खान्छन् ।

यस पूजामा व्रतालुहरूले कठोर व्रत बस्ने गर्छन् । यो निर्जला उपवास (पानी पनि नखाई गरिने व्रत) हो । व्रतालु दिन र रातभरि निराहार बसेर पूजा गर्ने गर्छन् । छठका गीत अनेकौँ छन् तर सर्वाधिक लोकप्रियमध्येको एउटा लोकगीत ‘मारबौ रे सुगबा धनुष से, सुगा गीरे मुरछाय’ । यस गीतमा केराको घरीलाई ठुङ्गन खोजेको सुगालाई हकार्दै भनिएको छ– जुठो नपार, होइन भने बाणले मार्ने छु, अनि तिम्रा सुगिनी वियोगले मुच्र्छित हुने छिन् र सूर्यदेवलाई गुहार्ने छिन् । काँचो बाँसको बँहगी लचकिँदै गइरहेको छ । यो भारी कहाँं जाने हो भनेर बटुवाले सोध्छ । अनि व्रतालुले जवाफ दिन्छ, तिमी अन्धो छौ कि क्या हो ? देख्दैनौ छठीमाईको अघ्र्य दिनको निम्ति घाटतिर जाँंदै छु ।  

उ जे केरबा फरल घओद से

ओइपर सुगा मडराय,

उ जे मारबौ रे सुगबा धनुष से

सुगा गिरे मुरछाय,

उ जे सुगनी जे रोअले वियोग से

आदित होइअउ न सहाय

उ जे काँंंच जे बाँंसके बहँगिया.......

       

धार्मिक, सांस्कृतिक र सामाजिक  महत्त्व 

दिनकर दिनानाथको उपासनाको मुख्य उद्देश्य सूर्यदेवलाई प्रसन्न गर्नु हो । धार्मिक ग्रन्थहरूमा सूर्यलाई जीवनदाता र स्वास्थ्यको प्रतीकका रूपमा मानिने गरिएको छ । यस पर्वका माध्यमबाट भक्तजनले सुख, समृद्धि, स्वस्थ्य र खुसियालीको प्रार्थना गर्छन् । आफ्नो धार्मिक मान्यता, सांस्कृतिक सौन्दर्य र भव्यताका कारण नेपालमा मैथिली र भोजपुरी समुदायसँगै यो पर्व नेपालीलगायत विविध भाषाभाषी र तराई मधेशबाट काठमाडाँै हुँदै देशभरिी विस्तार हुँदै गएको छ । छठ हिन्दुहरूको पर्व भए पनि यो मनाउनेमा अन्य धर्मावलम्बीसमेतको सहभागिता बढ्दै गएको देखिन्छ । त्यसैले यस पर्वले सामाजिक सद्भाव, एकता र पारिवारिक सम्बन्धलाई अझ बलिया बनाउँदै लगेको छ । परम्परागत रूपमा छठ पर्व कृषि संस्कृतिसँग जोडिएको पर्व हो । यसमा पिठो, सखर, दुध आदिबाट प्रसाद बनाउनु र उखु, नरिवल, बाँसको चोयाबाट बनेको डाला, ढाकी जस्तो आफ्नै घरगाउँको कृषि र घरेलु उत्पादनलाईको प्रयोग हुने गर्छ । यद्यपि बदलिँदो समयमा बजारमा देखिने तामा, पित्तल र प्लास्टिकसमेतका भाँडालगायत आधुनिक भव्य वस्तुको बढ्दो प्रयोगले छठमा उपभोक्तावादी संस्कृतिको प्रभाव पनि बढ्दै गएको देखिन्छ । 

कला, आनन्द र उत्सवको पर्व 

ग्रामीण तथा सहरी क्षेत्रमा यो पर्व मनाउने व्रmममा भक्तजन र सहभागी सजिसजाउ भएर घाटमा (पूजास्थल) जाने, गान बजानलगायत विविध सांस्कृतिक कार्यव्रmम गर्ने, षष्ठीदेवीको मूर्ति बनाउने, पूजास्थलको सजावट भव्य रूपले गर्ने, रातभर जाग्राम बसेर छठी माई र दिनकरको गीत गाएर रमाइलो गर्ने गर्छन् । यी कुराले सांस्कृतिक गतिविधि र कलालाई प्रतिनिधित्व गर्छ ।

जल, प्रकृति र पर्यावरणसँग निकटता 

यो पर्व सूर्यसँग सम्बन्धित छ । पृथ्वीका सबै जीव सूर्यको तापसँग जोडिएको हुन्छ । सूर्यको प्रकाश र ऊर्जा अनाज, बोटबिरुवा तथा सम्पूर्ण पारिस्थितिक पदार्थको उर्वरता वृद्धि र समृद्धिका लागि अति आवश्यक छ । यसर्थ सूर्यको पूजा गरेर प्रकृतिप्रति सम्मान प्रकट गरिन्छ । नदी, तलाउ, नहरको किनारमा मनाइने छठपर्वमा जलाशय र बाटोघाटोको सरसफाइ गर्नुले जलको शुद्धता, पवित्रता, जलको स्रोतको स्वच्छता र प्रकृतिको संरक्षणको निम्ति प्रेरित गर्छ । त्यसै गरी छठपर्वमा प्रयोग गरिने सामग्रीमा काँचो बाँस, माटाका भाँडा, मौसमी फलफूल, हरिया सागसब्जी आदिको प्रयोगले बोटबिरुवाको समृद्धि, मौसम र पर्यावरणसँगको सम्बन्धलाई दर्साउँछ ।

कृषि जीवन र लोकविश्वासको पर्व 

यो पर्व प्रायः कात्तिक महिनामा मनाउने चलन छ । नेपाल र भारतमा यो समय किसानहरूका लागि प्रमुख बाली धान तथा मौसमी उब्जनी काट्ने समय हुन्छ । त्यसैले गाउँघरमा एक खालको समृद्धिको भाव र उत्साह हुन्छ । एकातिर कृषि उब्जनीहरू इष्टदेव र देवीलाई अर्पण गरिने धार्मिक भाव र अर्कोतिर परदेश गएका आफन्तजनसमेत यस पर्वमा गाउँघर फर्केर इष्टमित्रसँग सामूहिक रमाइलोले समाजमा खुसी र आनन्दमा गर्छ । 

मिथ र पौराणिक आख्यान 

यस पर्वसँग जोडिएका अनेक मिथ र पौराणिक कथा छन् । एक कथा अनुसार प्राचीन भारतको एक प्रमुख राजा प्रियव्रतको रानी कान्तिप्रभाले छठमाईको पूजाअर्चना गरेर सुखसमृद्धि प्राप्त गरेकी थिइन् । महाभारतमा पाण्डवहरूले गुप्तवासका बेला षष्ठिमाता (छठमाई) र सूर्यदेवको पूजा गरेको लोक मान्यता प्रचलित छ । सूर्य पूराणका अनुसार अग्निमुनिकी पत्नी अनुसूयाले आफ्नो अटल सौभाग्य र पतिको प्रेम प्राप्त होस् भन्ने उद्देश्यले सर्वप्रथम छठको व्रत गरेकी थिइन् । त्यही दिनदेखि यो पर्व मनाउन थालिएको हो । 

छठपर्वको वैदिक आधार 

वैदिक ग्रन्थहरूमा सूर्यदेवता महिमा र प्रार्थना श्रद्धापूर्वक गाइएको छ । ऋग्वेद, यजुर्वेद र अथर्ववेदमा सूर्यलाई एक दिव्य, शक्ति सम्पन्न र जीवनदाता देवता भनिएको छ । 

छठपर्व र मातृत्व 

यस पर्वमा सूर्यदेवतासँगै षष्ठीदेवी (छठ परमेसरी, छठीमाई) को पनि पूजा गरिन्छ । यो पर्वमा निःसन्तानलेभएकाले सन्तान प्राप्ति र सन्तान हुनेले सन्तानको दीर्घायु, सुख, स्वास्थ्य र समृद्धिको कामनासहित पूजा गर्छन् । यस पर्वमा लोकविश्वासको दृढता कति छ भने सन्तान सुख र समृद्धिका निम्ति व्रतालुहरू तीन दिनको कठोर व्रत खुसीपूर्वक गर्छन् । यस कारण यो मातृत्वको पूजा पनि हो ।

महिलाको सहभागिता प्रधान 

सन्तानसुख र परिवारजनको समृद्धिको कामनासहित महिलाहरूको लागि छठपर्व विशेष लोक अनुष्ठान हो । विशेष अवस्थामा कुनै भाकल गरेका कारण यस पर्वमा केही पुरुषहरू व्रत बस्ने गरेको देखिए पनि मुख्यतः यसमा महिलाको सहभागिता नै बढी हुने गर्छ । व्रत बस्ने मात्र होइन, यस पर्वमा पूजा गर्ने, पानीमा पसेर अस्ताउँदो र उदाउने सूर्यलाई अर्घ दिने, प्रसाद बनाउने र अन्य आनुष्ठानिक काममा पनि महिलाको सहभागिता नै विशेष हुने गर्छ ।

धार्मिक सहिष्णुताको पर्व 

छठपर्वको वर्तमान रूपको विकास मध्यकालमा गङ्गा नदीको किनारबाट भएको र व्रmमशः विस्तृत हुँदै गएको मानिन्छ । यस पर्वको विशेषता यसको अमान्त्रिक अनुष्ठान विधि हो, जसले गर्दा यसमा हिन्दुका सबै वर्ण र अन्य धार्मिक र सांस्कृतिक समुदायको समावेशिता बढ्दै गएको हो । सबैको सहभागिता तथा लौकिकता नै यसको समावेशी र सामाजिक सहिष्णु सौन्दर्य हो ।   

आधुनिकता र व्यापारीकरण 

 छठपर्वसँग सम्बन्धित सामग्री जस्तै, पूजाका लागि प्रयोग हुने सम्पूर्ण सामग्री, पर्वमा लगाउने सांस्कृतिक परम्परागत र आधुनिक पहिरन र अनेक डिजाइनका गरगहनाको बिव्रmी पनि खुब हुने गर्छ । बरु भनौँ यसमा समयसँगै सहर, बजार र ग्रामीण क्षेत्रमा समेत वृद्धि नै भएको देखिन्छ । यसको अर्थ कृषि मनोविज्ञान र जीवनबाट सुरु भएको छठपर्वका स्वरूप समयसँगै बदलिँदै गएको छ । तर यसमा उपभोक्तावाद र सांस्कृतिक विकृतिले जसरी जरो फिँजाउँदै गइरहेको छ, त्यसले छठपर्वको मौलिकता नष्ट गर्दै गैरहेको छ । 

यससँगै छठपर्वमा नदी, तलाउ र जलाशयहरूको सिँगारिएको भव्यता, साँझको अँध्यारो र बिहानीको छिपछिपे उज्यालोमा दीपहरूको मनमोहक प्रकाशले उत्पन्न गर्ने आकर्षणले देशी विदेशी पर्यटकको ध्यान पनि आफूतिर तान्ने गरको देखिन्छ । यस अर्थमा जनकपुरको छठपर्व प्रसिद्ध हुँदै गएको छ । जनकपुरको छठपर्वको मौलिकता र भव्यता दुवै अवलोकन गर्न हरेक वर्ष देशीविदेशीहरूको सङ्ख्या बढदै गएको देखिन्छ तर यस पर्वसँग जोडिएको अनिष्ट हुने भयले छठपर्व गर्नै पर्ने अन्धविश्वासले गर्दा निम्न वर्ग र निम्न मध्यमवर्गीय परिवारका लागि छठपर्वले आर्थिक भार तथा मानसिक तनाव बढाउने काम पनि गर्छ । समृद्ध परिवारका मानिसहरूले नयाँ र महँगा लुगा लगाएको देखादेखी गरिब परिवारका मानिसले आफ्ना सन्तानलाई खुसी राख्न ऋण लिएर पनि र धौ धौ गरेर भए पनि नयाँ लुगा किन्नै पर्ने र छठपर्व गर्नै पर्ने अन्धचेतनाले वास्तविक जीवनमा दुःख नै थपेको हुन्छ । यो छठको नकारात्मक पक्ष पनि हो । त्यसैले जोसँग जति छ, त्यही अनुसार नै गर्नु पर्छ र यसले सामाजिक प्रतिष्ठा प्रभावित नहुने चेतनाको विकास गराउन सके छठपर्वको वास्तविक आनन्द लिन सकिन्छ । मधुपर्क