• ८ मंसिर २०८१, शनिबार

मखनको “ड्राइफुड” सुकेका पसल

blog

काठमाडौँ महानगरपालिका वडा नम्बर–२४ को शुक्रपथबाट मखन गल्ली (मखःगल्ली) हुँदै हनुमानढोका दरबार क्षेत्रमा सानो पशुपति मन्दिर पुग्न सकिन्छ । मान्छे मात्र हिँड्न मिल्ने यो साँघुरो मखःगल्लीको अर्थ नेपाल भाषामा ‘नदेखिने’ गल्ली हुन्छ । स्थानीय भाषामा नदेखिने गल्ली मानिएको मखःगल्ली कुनै बेला ‘ड्राइफुड’ को थोक बिक्री केन्द्रका रूपमा परिचित थियो । 

तर मखन गल्लीको परिचय अहिले फेरिएको छ । त्यहाँ ‘ड्राइफुड’ का पसल फाटफुट छन् र भएका पसल पनि एकपछि अर्को गर्दै बन्द हुँदै गएको देखिन्छ । यसका कारण अनेक होलान् र जेजति कारण भए पनि ‘ड्राइफुड’ का पसल त्यहाँ सुकिसके ।  

विगतमा काजु, बदाम, पिस्ता, छोहोरा, नरिवल, अन्जिर, किसमिस, खुर्पानी तथा विभिन्न वस्तुका बियाँ पाइने पसल त्यस गल्लीमा बग्रेल्ती थिए । प्रायः ड्राइफुट महँगो हुने भएकाले सम्भ्रान्त र हुनेखाने व्यक्ति मात्र यी वस्तु खरिद गर्छन् । केही वर्षपहिलेसम्म यो गल्ली नदेखिने ठाउँका रूपमा थियो । बाटोमा मान्छेका टाउको मात्र देखिन्थे, हिँड्ने भन्दा पनि अर्काको धक्काले मानिस अगाडि बढ्थे । अचेल त्यस्सो छैन ।  

तर यतिबेला भने मखःगल्लीमा ड्राइफुडको बजार विस्थापित भएसँगै कस्मेटिक तथा लेडिज पहिरनका पसल खुलेका छन् । फरक वस्तुको खोजीमा आउने ग्राहकले मखन गल्लीको चहलपहलमा त्यति कमी आएको छैन । 

मखन गल्लीको दायाँबायाँ करिब ६० वटा पसल छन् । अब त्यहाँ आठ वटा मात्रै ‘ड्राइफुड’ का पसल बाँकी रहेको देखिन्छ । नेपाल व्यापार कम्पनीका सदस्य निर्मल राजभण्डारीका अनुसार २०७२  सालको भूकम्प र कोभिड–१९ सर्वमहामारीसँगै चर्को सटर भाडा, अस्वस्थ प्रतिस्पर्धा, कालोबजारी र भन्सार प्रक्रिया झन्झटिलो भएकाले ‘ड्राइफुड’ का पसल विस्थापित भएका हुन् ।  

यस गल्लीमा कुनै बेला ४०/५० वटा ‘ड्राइफुड’ का थोक पसल सञ्चालनमा थिए । ती धेरै पसल विस्थापित भएर कस्मेटिक तथा लेडिज पहिरनका पसलले मखन गल्ली छपक्कै ढाकेको छ । यसका अनेक कारणमध्ये एउटा पक्ष हो पसल कवल भाडाको । पुराना घर भत्काएर नयाँ घर तथा सटर बनाएर घरधनीले अस्वाभाविक भाडा बढाएका छन् । ‘ड्राइफुड’ पसल सञ्चालकले मुनाफा कम भएका कारण धेरै भाडा तिर्न नसक्ने तर कस्मेटिक तथा लेडिज पहिरनका पसलका लागि मनग्गे भाडा तिर्न थालेपछि मखन गल्लीको व्यापारिक पहिचान फेरिन पुगेको छ । 

सटर भाडा पनि २०/३० हजार रुपियाँबाट एक्कासि बढेर एक लाखसम्म पुगेको छ । भाडा बढेकाले पनि ‘ड्राइफुड’ को व्यापार धमाधम बन्द भएको भनाइ सम्बन्धित व्यापारीको छ । कपडा तथा शृङ्गारका सामानको तुलनामा ‘ड्राइफुड’ को व्यापार जोखिमपूर्ण र त्यसमा मोलमोलाइ गर्ने अवस्था हुँदैन ।  

पुराना व्यापारी हरिगोपाल फैजुले ‘ड्राइफुड’ थोक व्यवसायबाट नै हात धुनु परेको छ । भन्सार तथा ढुवानी प्रक्रिया झन्झटिलो भएकाले सामान बाटोमा नै कुहिने हुँदा घाटाको व्यापार गर्नुभन्दा आराम गर्नु वेश ठानेर मखन छोड्नु परेको भनाइ उनको छ । विगतमा नेवारी समुदायको वर्चस्व रहेको यो व्यवसायमा अन्य समुदायका व्यक्ति (मारवाडी) को प्रवेश भएसँगै प्रतिस्पर्धासमेत बढेको छ । काठमाडौँ उपत्यकामा ‘ड्राइफुड’ का करिब दुई सय थोक बिक्रेता रहेका छन् । 

–देवबहादुर कुँवर  

–युवामञ्च