• १० मंसिर २०८१, सोमबार

बेचिएका बालबालिकाको उद्धार, बाह्र जनालाई आफन्तको जिम्मा

blog

सांकेतिक तस्बिर ।

भैरहवा समाचारदाता

भैरहवा, कात्तिक ४ गते । भारतमा बेचिएका १२ जना बालबालिकाको उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ । भारतका विभिन्न सहरमा पुर्‍याएर बेचिएका, अवैध काममा लगाइएका र सडकमा जीवन बिताइरहेका बालबालिकालाई उद्धार गरिएको हो । भारतमा रहेर नेपाल–भारत मानव बेचबिखनको क्षेत्रमा काम गर्दै आएको संस्था किन इन्डियाले १२ जना बालबालिकाको उद्धार गरेर नेपाल ल्याएको हो ।

शुक्रबार रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल ल्याइएका बालबालिकालाई जिल्ला प्रशासनमार्फत आफन्तको जिम्मा लगाइएको छ । किन इन्डियाका नेपाल प्रमुख इन्द्रराज भट्टराईले आफन्त फेला नपरेका र घरमा सुरक्षित नरहेका बालबालिकालाई भने मानव बेचबिखनविरुद्धको क्षेत्रमा काम गर्ने संस्थाले सहारा दिने जानकारी दिनुभयो ।  

उहाँका अनुसार उद्धार गरिएकामा नौ जना बालिका, एक जना किशोरी र दुई जना बालक छन् । किन इन्डियाले भैरहवास्थित विभिन्न संस्थाको सहकार्यमा जिल्ला प्रशासनमार्फत आफन्तको जिम्मा लगाएको हो । 

विगतदेखि पारिवारिक, गरिबी र रोजगारीको लोभले बालबालिका उमेर नपुग्दै भागेर, आफन्त वा दलालको पन्जामा परेर भारत जाने र त्यहाँ बेचबिखनमा पर्ने गरेको उहाँले जानकारी दिनुभयो । 

उद्धार गरिएका बालबालिकामा उदयपुरका चार, सुनसरीका तीन, धनुषाका दुई, सिन्धुपाल्चोक, धनकुटा र पर्साका एक/एक जना छन् । उनीहरूलाई भारतको सुपाउ, मधुवनी, गया, विहार, दिल्ली, बेङ्गलोरलगायतका ठाउँबाट उद्धार गरिएको हो ।

उद्धार गरिएका बालबालिकालाई नेपाल ल्याउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, नेपाली दूतावास दिल्ली, सिद्धार्थनगर नगरपालिका, भारतका विभिन्न सङ्घ संस्था, जिल्ला प्रशासन, जनपद प्रहरी, सशस्त्र प्रहरीलगायतले सहयोग गरेका थिए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले मानवीय कार्यमा किन इन्डियाले गरेको योगदान महìवपूर्ण रहेको बताउनुभयो । प्रजिअ अर्यालले आफन्त, दलाल र प्रलोभनले नेपाली बालबालिका बेचबिखनमा पर्ने गरेको भन्दै यसलाई रोक्न सबै क्षेत्रले उत्तिकै काम गर्नुपर्ने बताउनुभयो । सुरक्षाकर्मीले रातदिन खटेर काम गर्दासमेत दलालले विभिन्न भित्री नाकाको प्रयोग गरेर बालबालिकालाई भारत पुर्‍याएर बेचबिखन गर्ने गरेको भन्दै उहाँले सबै मिलेर यसलाई रोक्न लागि पर्नुपर्ने बताउनुभयो ।