• ४ कात्तिक २०८१, आइतबार

हरिपुर्वा सबस्टेसन ‘चार्ज’ गर्न मिल्ने अवस्थामा

blog

सर्लाही समाचारदाता

सर्लाही, कात्तिक ४ गते ।  बहुप्रतिक्षित सर्लाहीको हरिपुर्वास्थित विद्युत् सबस्टेसन चार्ज गर्न मिल्ने अवस्थामा पुगेको छ । दसैँअघि नै चार्ज गरेर सञ्चालनमा ल्याउने भनिएको सबस्टेसन ठेकेदारको भुक्तानीमा ढिलाई हुँदा काम रोकिन पुगेको थियो । नेपाल विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मुनिन्द्र ठाकुरले ठेकेदारले पाउनुपर्ने रकम भुक्तानी भइसकेकाले अब तिहार र छठलगत्तै सबस्टेसन चार्ज गरेर सञ्चालनमा ल्याइने जानकारी दिनुभयो । 

उहाँका अनुसार सबस्टेसन तयार अवस्थामा छ । ढल्केबरदेखि ल्याइएको ३३ केभी लाइन बाँके जङ्गलबाट जोडेर हरिपुर्रास्थित सबस्टेसनसम्म पु-याउन बिजुलीको पोल गाड्ने (पोलिङ) को कामसमेत पूरा भइसकेको प्राधिकरणको प्रादेशिक कार्यालयका प्रमुख ठाकुरले बताउनुभयो । 

हरिपुर्वाको सबस्टेसन सञ्चालनकै लागि धनुषाको ढल्केबरदेखि ल्याइएको ३३ केभी लाइन अन्तर्गत दसैँकै मुखमा बाँके जङ्गलदेखि महोत्तरीको खयरमारासम्मको करिब सात किलोमिटर जङ्गल क्षेत्रमा रुखका हाँगाबिँगा काटेर सफा पारिएको छ । अब विद्युत् फल्ट पत्ता लाउन केही ठाउँमा डिभाइस जडानको कामबाहेक अरू कुनै काम बाँकी नरहेको प्राधिकरणको प्रादेशिक कार्यालय जनकपुरको दाबी छ । 

दुई वर्षअघि नै सबस्टेसन तयार भए पनि हरिपूर्वा र ईश्वरपुरको केही ठाउँमा पोल गाड््ने विषयमा विवाद उत्पन्न भएपछि सबस्टेसन नै अलपत्र परेको थियो । प्राधिकरणको प्रदेश तथा जिल्लाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, पालिकाका प्रमुखलगायत बसेर समस्याको समाधान गरेसँगै पोल गाड्ने सम्पूर्ण काम सकेर तारसमेत टाँगिसकेकाले छठ लगत्तै हरिपुर्वाको सबस्टेसन चालु हुने भएको छ । 

हरिपुर्वाको सबस्टेसनमा १६ हजार केभिएको ट्रान्सफर्मर जडान गरिएको छ । यो सबस्टेसन सञ्चालन हुनासाथ सर्लाहीको दक्षिण–पूर्वी भेगका स्थानीयले झेल्दै आएको छिनछिनमै बत्ती कटौती हुने, भोल्टेज नआउने जस्ता समस्या समाधान हुने प्रादेशिक कार्यालय जनकपुरका प्रमुख ठाकुरको भनाइ छ । 

हरिपुर्वाको यो सबस्टेसनबाट सदरमुकाम मलङ्गवादेखि पूर्वी भेगमा पर्ने हरिपूर्वा, पर्सा, ब्रह्मपुरी, ईश्वरपुरलगायत पालिकामा विद्युत् प्रवाह गर्ने प्राधिकरणको तयारी छ । यी भेगमा अहिले सदरमुकाम मलङ्गवाबाट बत्ती तान्नुपर्दा ओभरलोडका कारण धेरै नै समस्या भइरहेको छ । 

यसअघि मलङ्गवादेखि पश्चिमतर्फको भेगमा यस्तै समस्या रहेकोमा गडहिया डुमरियामा हरिपूर्वाकै जस्तो १६ हजार केभिए क्षमताको सबस्टेसन निर्माण भई सञ्चालनमा आएसँगै पश्चिमी बेल्टको समस्या समाधान भइसकेको छ । सदरमुकाम मलङ्गवास्थित सबस्टेसनमा अहिले नवलपुरस्थित ग्रिड सबस्टेसनबाट बत्ती जोडिएको छ । हरिपूर्वामा भने ढल्केबरतर्फबाट डाइरेक्ट आएको बिजुली जोडिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।