• २ कात्तिक २०८१, शुक्रबार

‘मधेशको स्वास्थ्य सूचकाङ्कमा सुधार आवश्यक’

blog

प्रदेश स्तरीय वार्षिक समिक्षा गोष्ठीलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री शत्रुधनप्रसाद सिंह । तस्विरः धर्बेन्द्र झा

धर्बेन्द्र झा 

जनकपुरधाम, कात्तिक २ गते । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहले मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका सुधारका संकेतहरु सकारात्मक रहेको भन्दै स्वास्थ्य क्षेत्रको सूचकाङ्कमा सुधार ल्याउन कर्मचारीलाई निर्देशन दिनु भएको छ ।

स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले शुक्रबार जनकपुरधाममा आयोजना गरेको प्रदेश स्तरीय वार्षिक समीक्षा गोष्ठीको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले स्वास्थ्य क्षेत्रको सूचकाङ्कमा सुधार नभएसम्म दिगो विकासको लक्ष्यहरु हाँसिल गर्न कठिन हुने भएकाले त्यसतर्फ ध्यान दिन कर्मचारीलाई आग्रह गर्नुभयो । मन्त्री सिंहले “मेरो स्वास्थ्य मेरो जिम्मेवारी” मूल भावनासहित स्वास्थ्यक्षेत्रका कर्मचारीले गरेको सेवाको सराहना गर्दै दिगो विकासको लक्ष्य हाँसिल गर्न प्रदेशका जनतालाई स्वस्थ राख्नेगरी काम गर्न आग्रह समेत गर्नुभयो । 

उहाँले तीन तहका सरकारविचमा अधिकतम सहकार्य गरेर स्वास्थ्य क्षेत्रमा थप उपलब्धी हाँसिल गर्न स्वास्थ्य क्षेत्रका अगुवालाई कडा मेहनतसाथ काम गर्न निर्देशन दिँदै यसका लागि बजेटको अभाव हुन नदिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

स्वास्थ्यमन्त्री सिंहले स्वास्थ्य क्षेत्रमा राम्रो काम गर्ने कर्मचारीलाई सम्मान तथा नराम्रो काम गर्नेलाई दण्डको नीति सरकारले लिएको बताउँदै उत्कृष्ट काम गर्ने स्वास्थ्यकर्मीलाई प्रदेश सरकारले चाँडै सम्मान गर्नेे बताउनुभयो । 

मधेश प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. शोहन साहले स्वास्थ्य क्षेत्रसँग सरोकार भएका दिगो विकासका लक्ष्य हाँसिल गर्न स्थानीय सरकारले बढी जिम्मेवारीका साथ काम गर्न जरुरी रहेको बताउँदै प्रदेश सरकार सहकार्य गर्न तयार भए पनि अपेक्षाअनुसार हुन नसकेको बताउनुभयो । 

मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. सञ्जयकुमार ठाकुरले मधेश प्रदेशको स्वास्थ्य सूचकांङ्कमा सुधार हुन थालेकोमा खुशी व्यक्त गर्दै थप सुधारका लागि मेहनत गर्न स्वास्थ्य क्षेत्रका अगुवालाई निर्देशनदिनुभयो । महिला तथा वालवालिका समितिका सभापति रुपाकुमारी यादवले मधेश प्रदेशको स्वास्थ्यमा गुणात्मक सुधारको खाँचो रहेको बताउँदै स्वस्थ्यकर्मीले सीमित स्रोत साधनबिच गरेको सेवाको सराहना गर्नुभयो ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक डा. विनोदकुमार यादवले मधेश प्रदेशको स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रतिष्ठानले काम गरेको बताउँदै स्वास्थ्य शिक्षामा नयाँ कार्यक्रममा अध्ययन अध्यापन भइरहेको बताउनुभयो ।

संयुक्त राष्ट्र संघीय जनसंख्या कोषका प्रदेश प्रमुख डा. नरेन्द्रकुमार मिश्रले दिगो विकासका लक्ष्य हाँसिल गर्न स्वास्थ्य क्षेत्रमा सुधारका लागि अहिलेको अवस्थामा चार गुणा बढीले मेहनतगर्न जरुरी रहेको बताउनुभयो । 

स्वास्थ्य निर्देशनालका निर्देशक डा. राजिवकुमार झाले मधेश प्रदेशमा खोपको दृष्टिकोणमा अगाडि भएको बताउँदै सुरक्षित मातृत्व तथा सुरक्षित शिशु, पोषणको क्षेत्रमा थप काम गर्न जरुरी रहेको बताउनुभयो । कार्यक्रममा मधेश प्रदेशमा रहेको संघ तथा प्रदेश सरकारका स्वास्थ्य संस्थाका प्रमुख, आयुर्वेद कार्यालयका प्रमुखहरु, स्वास्थ्य क्षेत्रमा काम गर्ने सरकारी तथा गैर सरकारी संस्थाहरु, प्रतिष्ठानका  प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता छ । 

तीन दिनसम्म प्रदेशको स्वास्थ्य क्षेत्रको कमी कमजोरी तथा सुधारको उपाय विषयमा बृहत छलफल हुने निर्देशक डा. झाले जानकारी दिनुभयो ।