• २ कात्तिक २०८१, शुक्रबार

प्रधानमन्त्रीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक

blog

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी बैठकमा सहभागी प्रधानमन्त्री केपी ओलीलगायत । तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, कात्तिक २ गते। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४ औँ बैठक सुरु भएको छ। असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउने लगायत विषयमा छलफल गर्न प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा  बैठक सुरु भएको हो। 

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी छ। बैठकमा  मनसुनजन्य विपद्का घटनाबाट मृत्यु भएका व्यक्तिका परिवारको स्वास्थ्य बीमा, प्रभावितका लागि अस्थायी आवास निर्माण, पुनः निर्माण तथा पुनःस्थापनालाई तीव्रता दिने, विपद्पश्चातको खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन थप हेलिकप्टर व्यवस्था गर्ने सात प्रस्ताव रहेका छन्।

बैठकमा २०८० कात्तिक १९ पछिको सम्पूर्ण विपद्का घटनाको समीक्षा गर्ने, त्यसयताका घटनामा मृत्यु भएका व्यक्ति, सुरक्षाकर्मी, एवं खोज तथा उद्धारका क्रममा खटिइ मृत्यु भएका सुरक्षाकर्मीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनमा समवेदना प्रकट गर्ने र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने, विपद्पछिको खोज, उद्धार तथा राहत वितरणलगायतका कार्यमा संलग्न सबै व्यक्ति एवं सङ्घ–संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्ने पनि कार्यसूची छ।

बैठकमा परिषद्का सदस्य उपप्रधानमन्त्रीद्वय, मन्त्री, प्रदेशका मुख्यमन्त्री, मुख्यसचिव, सुरक्षा निकायका प्रमुखलगायत सहभागी हुनुहुन्छ। बैठकमा परिषद्को सदस्य प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र)का नेता शक्तिबहादुर बस्नेत उपस्थित हुनुहुन्छ। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख तथा परिषद्का सदस्य सचिव अनिल पोखरेलले ५४ वर्षयताकै सबैभन्दा बढी वर्षा भएको उक्त मनसुनजन्य विपद्का कारण स्वदेशी र विदेशीसहित दुई सय ५० को मृत्यु भएको बताउनुभयो। उहाँले प्रारम्भिक अध्ययनमा ४६ अर्ब बराबरको क्षति भएको जानकारी गराउनुभयो। नेपाल सरकारले उक्त विपद्‍बाट अति प्रभावित ७१ पालिका रहेको घोषणा गरिसकेको छ।