• २ कात्तिक २०८१, शुक्रबार

करेन्ट लागेर एककाे मृत्यु, दुई घाइते

blog

रवीन्द्र उप्रेती

बर्दिबास, कात्तिक २ गते । महोत्तरीको गौशाला नगरपालिकामा आज बिहान करेन्ट करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते छन् । 

प्रहरीका अनुसार करेन्ट लाग्दा गौशाला ३ स्थित पचाइन टोलकी १२ वर्षीया करिनाकुमारी महतोको मृत्यु भएको हो । बालिकासँगै खेततर्फ जाँदै गरेका छिमेकका १४ वर्षीया साथी विमाकुमारी महतो र १८ वर्षीया राधाकुमारी महतो घाइते छन् । 

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक सूर्य रानाकाअनुसार घटनास्थलमै मृत्यु भएको बालिकाको घटना मुचुल्का गरी पोष्टमार्टमका लागि बर्दीबास अस्पताल पठाइएको छ । घाइते बालिकाहरुलाई गौशालास्थित निजी अस्पतालमा भर्ना गरिएको छ । 

मृतक बालिकाका बुवा विहारी महतोका अनुसार गाँउकै अन्य तीन जना साथी सहेलीसँग आज बिहान ७ बजेतिर घाँस काट्न खेततर्फ जाँदै गर्दा करिनालाई सोही गाउँका तरकारी कृषकले खेतको सुरक्षाका लागि लगाएको तारजालीमा छुँदा मृत्यु भएको हो । 

गाउँ नजिकको तरकारी खेतको सुरक्षाका लागि जग्गाधनीले घेरवेर गरेको तारजालीमा करेन्ट प्रवाह गरेका थिए । करेन्ट प्रवाहबारे जानकारी नहुँदा सोही तारजालीमा छोइएपछि घटना वारदात भएको प्रहरीले जनाएको छ । करेन्ट प्रवाह गर्ने जग्गाधनीको खोजी जारी छ ।