• २ कात्तिक २०८१, शुक्रबार

सुमोबाट खसेर बालकको मृत्यु

blog

राजकुमार भट्टराई

खोटाङ, कात्तिक २ गते । गुडिरहेको सुमोबाट खसेर खोटाङमा एक बालकको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –४ खाल्लेका दीपक बस्नेतका ८ वर्षका छोरा हेमन्त बस्नेतको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) प्रतीक बिष्टका अनुसार बिहीबार राति करिब ८ः३० बजेको समयमा बालक गाडीबाट खसेका हुन् । खाल्लेबाट खानीडाँडातर्फ आउँदै गरेको ना १ ज ५७४३ नम्बरको सुमो गाडीबाट बालक हेमन्त खसेको बताइएको छ । गाडी चालक गोविन्द कट्वाललाई नियन्त्रणमा लिइएको (डिएसपी) बिष्टले बताउनुभयो । 

बालक सडकमा घाइते अवस्थामा लडिरहेको आफन्तले भेटाएपछि जिल्ला अस्पताल दिक्तेल ल्याइएको थियो । बालकको अवस्था जटिल रहेकाले जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौं लगिएको छ । काठमाडौं लाँदैगर्दा हलेसीमा पुगेपछि बालक हेमन्तको मृत्यु भएको (डिएसपी) बिष्टले बताउनुभयो । 

मृतक बालकको शव हाल जिल्ला अस्पतालको शवगृहमा राखिएको छ । बालक कसरी गाडीबाट खसे भनेर अनुसन्धान सुरु गरिएको (डिएसपी) बिष्टले बताउनुभयो ।