• २ कात्तिक २०८१, शुक्रबार

‘शैक्षिक सुधार अभियान सुरु’

blog

लहान समाचारदाता

लहान,कात्तिक १ गते । परिवर्तित अवस्थामा सामुदायिक विद्यालयमा शैक्षिक सुधारका लागि बौद्धिक वर्गले अभियान सुरु गरेको छ । इन्टेलेक्चुअल फाउन्डेसन नेपालका संयोजक डा. सूर्यप्रसाद यादवले मातृगाउँ काचनबाट सो अभियान सुरु गर्नुभएको हो । उहाँले भन्नुभयो, “शिक्षा धनी र गरिब, गाउँ र सहर, छोरा र छोरी विभाजित भएर सामुदायिक विद्यालयको अवस्थामा निकै ह्रास मात्रै होइन, निराशै आउन थालेपछि यो अभियान थालेका हौँ ।” सप्तरी र सिराहाको दर्जनौँ सामुदायिक विद्यालयको अवस्था र व्यवस्था बुझेर अब बौद्धिक वर्गले अभियान नथाले मधेशको शिक्षा सहरी क्षेत्रमा सीमित भई गाउँको सामुदायिक विद्यालयको बेहाल हुने निश्चित छ ।” 

अभियानमा जोडिनुभएको सिराहा धनगढीमाई नगरपालिका–१ स्थित श्री जनता माध्यमिक विद्यालय बेतहा भवानीपुरका प्रधानाध्यापक रामविलास यादव भन्नुहुन्छ, “अब सरोकारवालाले सामुदायिक विद्यालयको अवस्था सुधार्न जागरुक भएनन् भने आउने दिन थप चुनौती बन्दै जाने छन् ।” उहाँले सरोकार राख्ने अभिभावक, स्थानीय तह, शिक्षक र राजनीतिक दलमा मिलेर सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

मधेश प्रदेशको साक्षरता प्रतिशत विकट मानिएको कर्णाली प्रदेशभन्दा पनि कम हुनु चिन्ताको विषय भन्दै यसको दोष शिक्षकमाथि थोपरेर कसैले उम्किन नमिल्ने बताउनुभयो । उहाँले विद्यालयमा विद्यार्थी नियमित नहुने, अभिभावक शिक्षाप्रति सचेत नहुनु, शिक्षक र विद्यार्थीले गृहकार्य गर्ने र अनुशासन पालना गर्ने परिपाटी नै नहुनु सामुदायिक विद्यालयमा चुनौती बनेको उहाँले बताउनुभयो ।

बोदेबर्साइन आधारभूत विद्यालय भाटिनका प्रधानाध्यापक जमिला खातुनले सामुदायिक विद्यालयमा छात्राको सङ्ख्या उल्लेखनीय हुनु र संस्थागत विद्यालयमा छात्रको संङ्ख्या बढी हुनु, सम्पन्न परिवारका सन्तान संस्थागत सहरी क्षेत्रको विद्यालयमा भर्ना हुनु, गरिब विपन्न समुदायका बालबालिका मात्रै सामुदायिक विद्यालयमा भर्ना हुने लहरै चलेको भन्दै सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोणमा देखिएको विभेद अन्त्य गर्न अभिभावक शिक्षा आवश्यक रहेको तर्क गर्नुभयो । 

राजर्षि जनक विश्वविद्यालयका संस्थापक रजिष्ट्रार महेन्द्र यादवले मधेशको शिक्षालाई सही मार्गमा ल्याउन मधेशका इन्टेलेक्चुअल समूह लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेशको शिक्षा पछि पर्नुका कारण अनुशासन नहुनु र शिक्षामा राजनीतीकरण हुनु हो ।” इन्टेलेक्चुअल फाउन्डेसन नेपालले यही आइतबारदेखि सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनबाट सुरु गरिएको अभियान समारोहमा बौद्धिक वर्ग र सरोकारवालाले शिक्षाको महŒव र आवश्यकता विषयमा व्यापक विमर्श गरिएको थियो ।