• १० कात्तिक २०८१, शनिबार

बाह्र सयभन्दा बढी पर्यटक मन्थलीमै रोकिए

blog

रामेछापको मन्थली विमानस्थलमा उडानको प्रतीक्षामा रहेका पर्यटक ।

रामेछाप समाचारदाता

रामेछाप,कात्तिक १ गते । विगत तीन दिनदेखि मन्थली–लुक्ला उडान हुन नसक्दा एक हजार दुई सयभन्दा बढी पर्यटक रामेछाप सदरमुकाम मन्थलीमै रोकिएका छन् । सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम खराब भएपछि गत सोमबारदेखि उडान बन्द हुँदा सगरमाथा क्षेत्रको भ्रमणका लागि सोलुखुम्बु जान आएका पर्यटक मन्थलीमै रोकिएका हुन् । 

उडान रोकिँदा १० घण्टा लगाएर राजधानी काठमाडौँबाट सडक मार्गमार्फत मन्थली आएका पर्यटक मन्थलीमै रोकिएका सोलुखुम्बु घर भएका पर्यटन व्यवसायी नवराज घिसिङले बताउनुभयो । उहाँले भन्नुभयो, “तीन दिनदेखि मन्थली–लुक्ला उडान भएको छैन । जसका कारण काठमाडौँबाट १० घण्टाको अप्ठ्यारो सडकमार्गमार्फत आएका पर्यटक मन्थलीमा थुप्रिएका छन् । यस्तो बेलामा पर्यटकलाई घुमाउन लैजाने अन्त कुनै ठाउँ नहुँदा पर्यटक समस्यामा त परेकै छन् ।” मन्थलीका होटेल पहिलाभन्दा अहिले धेरै सुधार भएकाले यो पटक भने रोकिएका पर्यटकको खानपान र बसोबासका लागि धेरै सहज भएको उहाँले बताउनुभयो । 

गत सोमबारदेखि उडान नहुँदा सगरमाथा क्षेत्र भ्रमणका लागि मन्थली आएका एक हजार दुई सयभन्दा बढी पर्यटक मन्थलीमा रोकिएका नागरिक उड्डयन प्राधिकरण मन्थलीका उपप्रबन्धक हिरण्य साहले बताउनुभयो । उहाँले भन्नुभयो, “सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम खराब हुँदा सोमबारदेखि रोकिएको मन्थली–लुक्ला उडान बुधबार बिहान ९ बजेदेखि केही घण्टा सञ्चालन भयो तर केही घण्टा मात्रै उडान भएपछि फेरि खुम्बु क्षेत्रको मौसम खराब हुँदा उडान रोकियो ।” 

उहाँका अनुसार बुधबार बिहान ९ बजेदेखि साढे ११ बजेसम्म मौसम खुलेको अवधिमा १६ वटा उडानमार्फत दुई सय बढी पर्यटक सोलु पुगेका छन् । बुधबार मध्याह्नबाट उडान हुन नसकेपछि केही पर्यटकलाई हेलिकोप्टरमार्फत सोलुखुम्बु लगिएको नागरिक उड्डयन प्राधिकरण मन्थलीका उपप्रबन्धक साहले बताउनुभयो । 

नागरिक उड्डयन प्राधिकरणले (वसन्त ऋतु) को चैतदेखि जेठ महिनासम्म र (शरद ऋतु) को असोज पहिलो सातादेखि मङ्सिरको १५ गतेसम्म मन्थली विमानस्थलबाट लुक्ला पर्यटक लैजाने र ल्याउने व्यवस्था गरेको छ । एउटा उडानमार्फत १४ देखि १८ जनासम्म पर्यटक मन्थली विमानस्थलबाट लुक्ला पुग्ने गरेका छन् । बिहानदेखि बेलुकासम्म मौसम खुलेको समयमा एक दिनमा ६० वटासम्म मन्थली–लुक्ला उडान हुने गरेको छ ।