• २ कात्तिक २०८१, शुक्रबार

दसैँमा बजेन ढोल

blog

धीरेन्द्रप्रसाद साह 

जनकपुर,कात्तिक १ गते । परापूर्वकालदेखि चलेको ढोल पिटेर सूचना दिने परम्परा पछिल्लो समय सूचना प्रविधिको विकाससँगै लोप हुँदै गए पनि दसैँ आएको सन्देश दिन घरदैलोमा ढोल बजाउने संस्कृति यथावतै रहेको थियो । तर दसैँमा ढोल बजाउने तराईका राम (चमार) समुदायको जातीय सङ्गठनले ढोल बजाउन प्रतिबन्ध लगाएपछि यस वर्षको दसैँमा भने बजेन । 

दसैँमा ढोल बजाउनु परम्परागत संस्कृति नै भए पनि विभिन्न जातीय सङ्गठनले यो अछुतो काम हो भनेर प्रतिबन्ध लगाउन थालेपछि यो संस्कृति हराउन थालेको छ । विगतमा ढोल बजाएर दसैँको जोहो गर्दै आएकाको आम्दानीको स्रोत पनि बन्द भएको छ । लक्ष्मण रामले भन्नुभयो, “दसैँको अवधिमा १० दिन ढोल बजाएर वर्षभरि गर्जो टारिन्थ्यो । यसैबाट पाँच सदस्य परिवारको वर्षभरि खाने गरी अन्नपात, दाल, तेल, पैसालगायत सामग्री आर्जन हुन्थ्यो तर, ढोल बजाउन नपाएपछि आम्दानी छैन ।”

विगतमा गैरसरकारी संस्थाको अगुवाइमा भएको दलित आन्दोलनले राम समुदायलाई दसैँमा ढोल नबजाउन भनेपछि उनीहरूले यो काम छोडे तर त्यसको विकल्पमा आम्दानीको अन्य उपाय सिकाएनन् । 

सोही जातिले दसैँबाहेक अन्य शुभकार्य, उत्सवमा भने ढोल बजाउन छाडेका छैनन् । लक्ष्मण रामले विवाह, व्रतबन्ध, लोकनाच, छठ, तिहार, न्वारान, छठिहारलगायत मुस्लिम समुदायको दाहामा ढोल बजाउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष ढोल दसैँमा बजाउने र केही आम्दानी गर्ने तयारी गरेका थियौँ तर जातीय अगुवाले कतैबाट थाहा पाएपछि घरमै आएर ढोल बजाए सामाजिक बहिष्कार गर्छाैं भनेर चेतावनी दिएपछि बजाउन सकिएन । आम्दानी पनि भएन । 

राम जातिले आफैँमा टोल बस्ती खरिद गरेर ढोल बजाउने चलन रहँदै आएको छ । जिम्मेवारी वा खरिद गरिएको टोल बस्तीमा अन्य बस्तीका राम जातिले ढोल बजाउन पाउँदैन । 

घटस्थापनाकै दिनदेखि दैनिक बिहान वा साँझमा एक पटक घरघरमा चमार जातिका अगुवा ठुलो आवाजको नगरा (ढोल) बजाउँदै कराउँदै हिँड्दा ससाना नानीहरू उनका अघिपछि झुम्मिने गर्थे । अब यस्तो हेर्ने सुन्ने कुरा इतिहासमा सीमित हुन लागेको ८५ वर्षीय सिताबीप्रसाद साहले बताउनुभयो । दसैँमा १० दिन ढोल बजाएबापत घरघरबाट प्राप्त हुने दक्षिणास्वरूप धान, चामल, दाल, आलु, तेल, पैसालगायतको सामग्री ओसार्न बयलगाडा (गोरुगाडा) वा साइकलै चाहिन्थ्यो । यसले उनीहरूको परिवारमा वर्षभरि खान पुग्थ्यो । मधेश प्रदेश अन्तर्गतका जिल्लाका गाउँ÷नगर बस्तीका पाको चमार जातिका अगुवा बुढो भएर हिँडडुल गर्न नसक्दा र नयाँ पुस्ताका युवाले यस परम्परालाई नअँगालेपछि गाउँ÷नगर बस्तीमा अचेल ढोल बजाउन संस्कृति र सिपै हराइसकेको छ । 

जनकपुरका सिफैता राम चमार भन्नुहुन्छ, “करिब डेढ दशकअघि दलित आन्दोलनले सिनो फाल्ने र दसैँमा ढोल बजाउने कुरामा कडाइसाथ रोक लगायो । जरिबानासम्म पनि ग¥यो । यसैकारण धेरै वर्षसम्म हामीले ढोल बजाएनौँ । अहिले पनि लुकीछिपी कतैकतै बजाइरहेको छ । बजाउने चाहना भए पनि उमेर ढलिसकेका कारण शरीरले त्यति काम गर्दैन । छोरा नातिले पढाइतर्फ ध्यान दिएकाले ढोल बजाउन राम्ररी सिकेका पनि छैनन् । र चाहँदैनन् पनि ।” 

चमार जातिका पाका उमेरका अगुवा मुनेश्वर रामका अनुसार सामान्य लेखपढ जानेका दलित समुदायभित्रको चमार जातिका नयाँ पुस्ताका किशोर र युवा रोजगारीका लागि भारत, कतार, मलेसियालगायत अन्य अरब राष्ट्र जान थालेपछि पुख्र्यौली रीतिथिति र पेसा ओझलमा परेको छ । 

राम जातिको सिनो फाल्ने आन्दोलनका कारण दसैँमा ढोल नबजाउँदा पर्वमा ढोल बजाउने संस्कृति र चमार जातिको पुख्र्यौली पेसै सङ्कटमा परेको देखिन्छ । कला र संस्कृतिसँग जोडिएको ढोल (नगरा) बजाउने कार्य अछुतो नहुने मानसिकता त्याग्न आवश्यक छ । ढोल नबजाए पनि दसैँ मनाइएकै छ, रमाइलो भएकै छ । तर चमार जातिको आम्दानीको एक ढोकाचाहिँ बन्द भएको छ ।