• ३० असोज २०८१, बुधबार

दसैँ सकिएपछि सराय नाचको तामझाम (फोटो फिचर)

blog

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ भेलाइमा सराय खेल्दै । तस्बिरः जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, असोज ३० गते । यस पटक दसैँको टीका सकिएको छ । टीका सकिए पनि हरेक दिन रमझम भने जारी छ । विभिन्न स्थानजस्तै कपिलवस्तुमा पनि सराय जात्रा हेर्न जानेका लागि तामझाम चलेको छ । 

जिल्लाको शिवराज, बाणगङ्गा, बुद्धभूमि, कपिलवस्तु नगरपालिका र विजयनगर गाउँपालिकाका विभिन्न बस्तीमा सराय खेल्ने गरेका छन् । टीका सकिएदेखि पूर्णिमासम्म विभिन्न स्थानका शक्तिपीठका रूपमा रहेको कोटमा सराय हुने प्रचलन छ । 

दानव (राक्षस) माथि देवताले विजयी हासिल गरेपछि त्यसको खुसीयालीमा सराय नाच नाचिने जनविश्वास छ । पञ्चेबाजाको तालमा वाख्खै भन्दै गोलो घेरामा खुँडा, तरबार, खुकुरी लिएर नाच हेर्नका मानिसहरू लर्को लागेर आउने गरेका छन् । पञ्चेबाजा बजाएर हतियारसहित गरिने नृत्य, गीत र खेल युवा पुस्तामा हस्तान्तरण नभए पनि अवलोकन गर्न रोजाइमा पर्ने गरेको छ ।

सराय नाचको ऐतिहासिकता प्राचीन मगरात संस्कृतिसँग जोडिँदै चौबिसे राज्यकालबाट विशेष प्रचलनमा आएको लोकबहादुर महतले सराय नाचको ‘ऐतिहासिक तथा सांस्कृतिक महत्त्व’ शोधपत्रमा उल्लेख गर्नुभएको छ । 

यो नाच लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँची, पाल्पा, गुल्मी र प्युठानमा विशेष रूपमा प्रचलित छ । बसाइसराइका क्रममा तराईलगायतका स्थानमा विस्तार भएको छ ।