• ३० असोज २०८१, बुधबार

शान्ति र सुरक्षामा प्रहरीको विशिष्ट भूमिकाः मुख्यमन्त्री पाण्डे

blog

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे कार्यक्रममा । तस्विरः सन्तोष सुवेदी

सन्तोष सुवेदी

कास्की, असोज ३० गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सीमित साधनस्रोतका बाबजुद नेपाल प्रहरीले उल्लेख्य भूमिका खेल्दैआएको बताउनुभएको छ ।  ‘अपराध रोक्ने सङ्कल्प प्रमाणमुखी अनुसन्धान, स्वच्छ समाज निर्माण नेपाल प्रहरीको अनुष्ठान’ भन्ने मूल नारासाथ नेपाल प्रहरीले मनाइरहेको ६९ औं प्रहरी दिवसको अवसरमा मुख्यमन्त्री पाण्डेले सो कुरा बताउनुभएको हो ।

देशमा शान्ति र सुरक्षा अमनचयन कायम गराउने कुरामा नेपाल प्रहरीले विशिष्ट योगदान दिएको उहाँले उल्लेख गर्नुभयो । ‘‘नेपालमा जहानियाँ राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापनासँगै मुक्ति सेनासँग नेपाल प्रहरीको सम्बन्ध जोडिएको छ । प्रहरी सङ्गठनको ऐतिहासिक गरिमा र महत्व रहेको छ’ उहाँले भन्नुभयो । प्राकृतिक प्रकोप, शान्ति सुरक्षालगायतका हरेक समयमा आफूलाई इमानदार, जिम्मेवारीका साथ अघि बढाउँदै आएको प्रहरीले व्यावसायिक रुपमा पनि आफूलाई उत्तिकै सक्षम बनाएको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहले विगतदेखि नै राष्ट्र र जनताको सेवामा निरन्तर खट्दैआएको प्रहरी सङ्गठन सदैब जनमुखी, पारदर्शी र छिटोछरितो सेवा प्रवाहमा प्रतिबद्ध रहेको बताउनुभयो । सिंहले प्रहरी दिवसका अवसरमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको शुभकामना सन्देश वाचन गर्नुभएको थियो ।

कार्यक्रममा खेलकुद प्रतियोगितामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रहरी कर्मचारी तथा दैनिक प्रहरी कार्यमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरु र गण्डकी प्रदेश प्रहरीलाई विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई पुरस्कार तथा प्रशंसापत्र वितरण गरिएको थियो ।