• ३० असोज २०८१, बुधबार

दुई महिनामा आयात १.१ प्रतिशतले वृद्धि

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ३० गते । चालु आर्थिक वर्षको भदौमा मात्र वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.८५ प्रतिशत भएको छ ।  नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन अनुसार उपभोक्ता मुद्रास्फीति ३.८५ प्रतिशत रहेको छ; जुन अघिल्लो आवको सोही महिनामा यस्तो मुद्रास्फीति ८.१९ प्रतिशत थियो । 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.०३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.१९ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा यी समूहको मुद्रास्फीति क्रमशः ९.७७ प्रतिशत र ७.१९ प्रतिशतले वृद्धि भएको थियो ।

आयात निर्यात

चालु आव २०८१/८२ को दुई महिना (साउन–भदौ) मा कुल वस्तु आयात १.१ प्रतिशतले वृद्धि भई २६२ अर्ब ५४ करोड पुगेको नेपाल राष्ट्र बैङ्कको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५.१ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य देशबाट भएको आयात व्रmमशः ०.१ प्रतिशत र ५१ प्रतिशतले कमी आएको छ भने चीनबाट भएको आयात ११.९ प्रतिशतले वृद्धि भएको छ । 

वस्तुगत आधारमा यातायात उपकरण, सवारीसाधन तथा अन्य सवारीसाधनका स्पेयर पार्टस्, खानेतेल, रासायनिक मल, दूरसञ्चार उपकरण तथा पार्ट्स, वस्तुको आयात बढेको छ भने सुन, एमएस विलेट, धान तथा चामल, कच्चा पाम तेल, विद्युतीय उपकरणलगायतका वस्तुको आयात घटेको प्रतिवेदनमा उल्लेख छ । 

निर्याततर्फ भैरहवा, सुक्खा बन्दरगाह, कैलाली, कृष्णनगर तथा नेपालगन्ज भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कैलाली, मेची, रसुवा तथा तातोपानी भन्सार कार्यालयबाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको बताइएको छ । 

आव २०८१÷८२ को दुई महिनामा कुल वस्तु व्यापार घाटा १.८ प्रतिशतले वृद्धि भई २३७ अर्ब ४५ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४.७ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.२ प्रतिशत थियो । समीक्षा अवधिमा भारतबाट विदेशी मुद्रा भुक्तानी गरी २९ अर्ब ९३ करोड रुपियाँ बराबरको वस्तु आयात भएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३२ अर्ब १४ करोड बराबर थियो । 

चालु आवको दुई महिनामा कुल वस्तु निर्यात ५.१ प्रतिशतले घटी २५ अर्ब नौ करोड रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.८ प्रतिशतले कमी आएको थियो । भारततर्फ ४.५ प्रतिशत, चीनतर्फ ४५.३ प्रतिशतले कमी आएको छ । 

खर्च तथा राजस्व

चालु आवको दुई महिनामा नेपाल सरकारको कुल खर्च १३७ अर्ब ५५ करोड रुपियाँ रहेको बैङ्कको प्रतिवेदनमा उल्लेख छ । समीक्षा अवधिमा चालु खर्च ८२ अर्ब ९९ करोड, पुँजीगत खर्च १४ अर्ब ८९ करोड र वित्तीय व्यवस्था खर्च ३९ अर्ब ६७ करोड रुपियाँ रहेको छ । 

त्यस्तै समीक्षा अवधिमा सरकारको कुल राजस्व परिचालन १६६ अर्ब ३९ करोड पुगेको छ । यस अन्तर्गत कर राजस्व १४५ अर्ब १९ करोड र गैरकर राजस्व २१ अर्ब १९ करोड परिचालन भएको प्रतिवेदनमा उल्लेख छ । 

सरकारसँग भदौ मसान्तमा नेपाल राष्ट्र बैङ्कमा रहेका सरकारका विभिन्न खातामा २६९ अर्ब ५३ करोड नगद मौज्दात छ । २०८१ असार मसान्तमा यस्तो मौज्दात ९१ अर्ब ७८ करोड थियो । 

चालु आवको भदौ महिनामा मात्र एक खर्ब २६ अर्ब २१ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । साउनमा एक खर्ब ३६ अर्ब ९३ करोड रुपियाँ बराबरको रेमिट्यान्स आएको थियो । योसँगै दुई महिनामा रेमिट्यान्स आप्रवाह दुई खर्ब ६३ अर्ब १४ करोड पुगेको नेपाल राष्ट्र बैङ्कको प्रतिवेदनमा उल्लेख छ । 

यो अवधिमा भएको आप्रवाह अघिल्लो आवको दुई महिनामा भएको रेमिट्यान्स आप्रवाहको तुलनामा २२.८० प्रतिशत बराबर हो । त्यसमध्ये डलरमा आएको रेमिट्यान्स एक अर्ब दुई करोड रुपियाँ बराबर रहेको प्रतिवेदनमा उल्लेख छ । 

दुई महिनाको अवधिमा मात्रै वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ३६ हजार ९२८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २२ हजार ६४७ रहेको छ । श्रम स्वीकृति लिनेको सङ्ख्या घटे पनि यो अवधिमा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ ।