• ३० असोज २०८१, बुधबार

म्याग्दीको झिँमा जौ र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ परियोजना

blog

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, असोज २९ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका-५ झिँमा एक करोड रुपियाँ खर्च गर्ने गरी जौ र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ परियोजना सुरु हुने भएको छ । 

स्थानीय उत्पादनको प्रवर्धन र व्यावसायिक खेतीको विकास गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको नवप्रवर्द्धन साझेदारी कार्यक्रम अन्तर्गत उक्त परियोजना लागु हुने भएको हो । परियोजनामार्फत परम्परागत बालीको संरक्षण र ब्राण्डिङ गरी आयआर्जन वृद्धि गर्ने लक्ष्य राखिएको छ । 

आर्थिक वर्ष २०८१-८२ मा कार्यान्वयन हुने गरी मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम अन्तर्गत झिँमा जौ तथा उवा खेतीको उत्पादन तथा ब्राण्डिङ कार्यक्रम सञ्चालन गर्न गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय र रघुगङ्गा गाउँपालिकाबिच सम्झौता भएको हो । 

उक्त परियोजनामा प्रदेश सरकारबाट ७५ प्रतिशत र गाउँपालिकाको २५ प्रतिशत साझेदारीमा खर्च हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताउनुभयो । उहाँका अनुसार परियोजना यसै आर्थिक वर्षभित्र सुरु हुनेछ । 

जौ र उवा बालीको संरक्षण गरी विभिन्न खाद्य परिकार बनाएर बजारीकरण गर्ने उद्देश्यले परियोजना सुरु गरेका छौं गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले भन्नुभयो, ‘‘जौ र उवाको उत्पादनसँगै किसानलाई गाउँमै आम्दानीको अवसर सिर्जना हुने आशा गरेका छौं ।’’ जौ र उवाबाट बनेका परिकारहरुले पर्यटकलाई समेत यस गाउँमा आकर्षित गर्ने उहाँको भनाइ छ । परम्परागत घरहरुले बनेको झिँ गाउँ सुन्दर छ । 

यहाँबाट पर्यटकीय स्थल टोड्के हुँदै मालिका धुुरी–ठाडाखानी–कुुइने–चौरखानी–घ्यासीखर्क–सुँगुरथला,कछुुवा ओडार–धौलागिरि आधार शिविर–कालीबराह हुँदै मुुस्ताङको लेते जोड्ने पदमार्गको अध्ययन गरिएको छ । 

उहाँका अनुसार परियोजनाबाट झिँ गाउँका करिब दुई सय घरपरिवार लाभान्वित हुनेछन् । परियोजनामार्फत तीन सय रोपनी क्षेत्रफल जमिनमा जौ र उवाखेती गरिने भएको छ । जौ र उवा प्रशोधन गरेर कुकिज र बिस्कुट उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने लक्ष्य रहेको गाउँपालिकाका कृषि अधिकृत दीपक सिंहले बताउनुभयो । 

किसानलाई सूचीकरण गरी परम्परागत जौ र उवा बालीको महत्वबारे जानकारी गराउने, मिनीटेलर हलो, साना सिँचाइ, कम्बाइन मिल, ब्रस कटर, थ्रेसिङ मेसिन, सुकाउने त्रिपाल, भण्डारण गर्ने मेटलबिन, कुकिज, बिस्कुट बनाउन र पिठोलाई ब्राण्डिङ, प्याकेजिङ गर्न आवश्यक सामग्री उपलब्ध गराइने उहाँले बताउनुभयो । झिँका होटल र होमस्टेमा जौ र उवाको परिकार बनाउने सीप हस्तान्तरणका लागि तालिम सञ्चालन गर्ने कार्यक्रम बनाइएको गाउँपालिकाले जनाएको छ ।